स्थापितलाई गगनको जवाफ– आफैले बम पड्काउन लगायो भन्नेहरुलाई घृणा गर्छु
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफै बम पड्काए भनी हल्ला फैलाएकोमा घृणा र दुःख लागेको बताएका छन् । मैतीदेवी केन्द्रमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘आफैले आफैमाथि बम हान्यो भनी अनुमान गर्न सजिलो छ, यस्तो अनुमान ज्यादै अमानवीय, क्रुर र असंवेदनशील हो ।’
‘तीन जना साथीले मतहाल्न सकेनन् १ जना साथी डिस्चार्ज भए । टाउकाको दुःखाई सामान्य हुँदैछ, ढाडमा केही समस्या छ,’ गगनले अगाडि भने, ‘संविधान बनिसकेको छ अब मेरो पहिलो काम संविधानमा रहेका कानुन र नीति नियमलाई व्यवहारमै लागु गर्ने हुनेछ ।’
अबको १५ वर्षपछि नेपाल समृद्ध बन्ने उनको भनाइ छ । कांग्रेसको सरकार आएपछि नेपालमा कोही पनि गरिव र सुकुम्बासी नरहने दाबी गर्दै उनले भने, ‘सबै धनी र हुनेखाने हुन्छन, त्यसैले कांग्रेस गरिब र सुकुम्बासीको पार्टी हुने छैन ।’
गगन थापालाई एमालेका नेता केशव स्थापितले हिन्दी फिल्म नायकमा हिरोले आफैलेआफैलाई गोली हाने जस्तै गरी नियोजित रुपमा बम पड्काउन लगाएर जनताको सहानुभूति बटुल्ने प्रयास गरेको बताएका थिए ।