मन्त्री बन्न दौडिहाल्ने ‘मुसा प्रवृत्ति’का भनेर आरोप खेप्ने कमल थापा र गच्छदारलाई राहत हुने सम्भावना
काठमाडौं । मन्त्री बन्न जता पनि दौडिहाल्ने भनेर आरोप खेप्दै आएका नेपाली राजनीतिका दुई नेताहरुलाई आगामी पाँच वर्षसम्म राहत मिल्ने सम्भावना बढेको छ । किनभने यी दुवै नेताहरु अहिले मत गणनामा पछाडि परेका छन् । प्रतिनिधिसभामा निर्वाचित नभएमा दुवैले फेरि पनि मन्त्री बन्ने अवसर पाउने छैनन् ।
पटक पटक निर्वाचन जितेर १३ पटक मन्त्री बनेर सबै सुविधाभोग गरेका विजय गच्छदारलाई यसपल्ट सकस परेको छ । समयअनुसार रंग रुप बदल्न र अवसर उपयोग गर्न सक्षम नेताका परिचय बनाएका विजय गच्छदारलाई यसपटक भगवती चौधरीले टक्कर मात्रै होइन पछाडि पारेकी छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट वामगठबन्धबाट एमालेकी भगवती चौधरीले ६८३० मत प्राप्त गरेकी छन् भने गच्छदारले ५१६७ मत प्राप्त गरेका छन् । गच्छदार भन्दा भगवती १६६३ मतले अगाडि छिन् ।
त्यस्तै गरी मकवानपुरबाट क्षेत्र नम्बर १ मा कमल थापा पछाडि परेका छन् । उनलाई एमालेका कृष्ण दाहालले उछिनिरहेका छन् । दाहालको मत छ १५ हजार ५७७ र थापाको मत छ १४ हजार ५२१ ।