प्रवास रोजगार

अब विदेश जानकालगि श्रमग्राम धाउनु नपर्ने

अब विदेश जानकालगि श्रमग्राम धाउनु नपर्ने

माघ १९ । आजदेखि वैदेशिक रोजगारीमा जाने व्यक्ति श्रम स्वीकृतिका लागि श्रमग्राममा लामो लाइन बस्नु नपर्ने भएको छ । बुधबारदेखि सबै श्रम इजाजतको आवेदन अनलाइनबाटै गर्न पाउने भएपछि लाइन बस्न नपर्ने भएको हो । माघ ३ गतेदेखि सुरु गर्ने भनिए पनि प्राविधिक रूपमा तयारी पूरा नभएका कारण दुई सातापछि गर्न लागिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दमणि भुर्तेलले अन्तिम श्रम स्वीकृति अनलाइनबाट गर्नका लागि सबै तयारी भएकाले आजबाट सुरु गर्ने जानकारी दिए । विभागले यसअघि गएको पुस ३ गतेदेखि पूर्व श्रम स्वीकृति दिन सुरु गरिसकेको छ । वैदेशिक रोजगार व्यवसायी कम्पनीले पूर्व श्रम स्वीकृति लिने काम अनलाइनबाटै गर्दै आएका छन् ।

श्रम मन्त्रालयका अनुसार सबै किसिमका श्रम स्वीकृति अनलाइन ‘सिस्टम’बाट सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौँको तहाचलस्थित विभागको कार्यालयमा पुग्नुपर्ने छैन ।

श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवेदन गर्न सकिनेछ । सबै प्रक्रिया टुङ्गिएपछि श्रम स्वीकृतिको स्टिकरका लागि मात्रै कामदारले पासपोर्ट लिएर विभागमा जानुपर्ने हुन्छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालको ठगी नियन्त्रण हुने दाबी मन्त्रालयको छ । वैदेशिक रोजगार विभागले यो प्रणालीलाई ‘फरेन इम्प्लोइमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (एफईआईएमएस) नाम दिएको छ ।

यो प्रणालीबाट पहिलो चरणमा व्यक्तिगत रूपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्तावेज अनलाइनमा बुझ्नेछ । सुरुमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एफईआईएमएस प्रणालीमा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो इमेल आईडी बनाए जस्तै हुनेछ ।

यो आईडी बनाएपछि आफू जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपिसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ ।

जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रूपमा स्वीकार गर्छ । यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ ।

त्यस अनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अगाडि बढाउँछ । अनलाइन आवेदन गरेपछि प्रक्रिया प्रमाणित भएको जानकारी विभागले सम्बन्धित व्यक्तिको इमेलमा पठाउँछ ।

Bidesh Sram Swikriti

विशेष