राजनीति

स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक पारित

स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक पारित

माघ १९ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

समितिको बुधबार बसेको बैठकले समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावसहितको विधेयक पारित गरेको हो ।

उपसमितिले सरोकारवालाहरुसँग दफाबार छलफलपछि प्रतिवेदन तयार पारेर हिजो पूर्ण समितिमा पेश गरेको हो । समितिको बैठकमा निर्वाचनका लागि थ्रेस होल्ड कति राख्ने भन्ने विषयमा छलफल भए पनि टुंगोमा पुग्न सकेन ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका साना पार्टीले थ्रेसहोल्ड राख्न नहुने अडान राखेपछि समितिले यसको टुंगो लगाउन नसकेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड राख्ने विषयमा आफूहरुको विरोध रहेको बताए ।

ठूला दलका नेताहरुले भने निर्वाचनमा थ्रेस होल्ड राख्ने बताएका छन् । एमाले सांसद रामेश्वर फुयाँलले अहिलेसम्म कति प्रतिशत थ्रेस होल्ड राख्ने भन्नेमा विवाद भएकाले पुनः छलफल गरिने जानकारी दिए ।

ठूला दलले निर्वाचनका कम्तिमा तीन प्रतिशत थ्रेस होल्डको व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् ।

Nirbachan Bidyak

विशेष