राजनीति

समाजवादी युवा फोरमद्वारा पत्रकारलाई भौतिक कारबाही गर्ने चेतावनी

समाजवादी युवा फोरमद्वारा पत्रकारलाई भौतिक कारबाही गर्ने चेतावनी

माघ २० । समाजवादी युवा फोरम नेपालका उपमहासचिवले आफ्ना पार्टी अध्यक्षको चरित्र हत्याको प्रयास गर्ने मिडिया र संलग्न नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

आफ्ना नेताको बारेमा भ्रामक, पूर्वाग्रही, तथ्यहीन समाचार लेखाउन सद्भावना पार्टीका महासचिव मनिश सुमन र समाचार लेख्ने जनआस्था साप्ताहिकलाई आइन्दा चरित्र हत्या गर्ने प्रयास गरे युवा फोरमले कारबाही गर्न कडा चेतावनी दिएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चरित्र हत्या हुने किसिमको समाचार जनआस्था साप्ताहिकमा मंगलबार प्रकाशित भएको थियो । समाजवादी युवा फोरमका केन्द्रीय उपमहासचिव दुर्गामणि सुवेदीले भ्रामक, चरित्र हत्या गर्ने ढंगले भ्रामक समाचार लेख्ने र लेखाउनेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् ।

युवा नेता सुवेदीले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन्,– ‘समाचार भ्रामक, तथ्यहीन र पूर्वाग्रही रहेको पुष्टि भयो नै जनआस्था पत्रिका दुरूपयोग भएको देखियो । ‘हाम्रा नेता र पार्टी पंक्तिलाई बद्नाम गर्ने नियतले मनिश सुमन वा जो कोहीले आइन्दा यस्तो हर्कत गरे भौतिक कारबाही गर्न हामी बाध्य हुन्छौं ।’

उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसिया, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा र फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य सञ्जय यादवले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग मंगलबार दिउँसो प्रेस काउन्सिल नेपालमा छलफल गरेका थिए । स्रोतका अनुसार छलफलमा सम्पादक श्रेष्ठले समाचारमा त्रुटि भएको स्वीकार गरेका छन् । बैठकमा यादवका प्रेस संयोजक चौरसियाले आगामी अंकमा समाचारको खण्डन नछापिए प्रेस काउन्सिलमा उजूरी गर्नेदेखि सम्बद्ध पत्रकारमाथि भौतिक कारबाहीसम्म हुन सक्ने चेतावनी दिएका थिए ।

बैठक स्थलबाटै सम्पादक श्रेष्ठले समाचार लेख्ने पत्रकार हरि गजुरेलसँग मोबाइल ह्याण्ड फ्रि गरेर फोन कुराकानी गरेका थिए । गजुरेलका अनुसार, मोर्चाका नेताद्वय महेन्द्रराय यादव र मनीष सुमनले दिएको सूचनाको आधारमा समाचार आएको बुझिएको छ ।

‘प्रेस काउन्सिलमा आज प्रारम्भिक छलफल हुँदा सम्पादक किशोर श्रेष्ठले समाचारमा त्रुटि भएको स्वीकार गर्दै थप तथ्य बुझेर निष्कर्षमा पुग्ने बताएका छन्’– सुवेदीले थप लेखेका छन्,’– ‘आजको छलफलले उक्त उसो त सुमनले यसअघि पनि पटक पटक घटिया शैलीमा फोरम नेपालसहित मोर्चाका नेताहरुलाई बद्नाम गर्ने, चरित्र हत्या गर्ने, झूठा समाचार लेखाउने कार्य गर्दै आएको पुष्टि भइसकेको छ ।’ मोर्चाको गोप्य सूचना चुहाए वापत उपेन्द्र यादवले यसअघि थुप्रै पटक सुमनलाई सार्वजनिक ढंगले गाली गरिसकेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध तथ्यहीन समाचार लेखाएको आरोप लागेको सद्भावना महासचिव सुमनले भने आफूले त्यस्तो कुनै सूचना नदिएको प्रतिक्रिया दिएका छन् ।

विशेष