प्रधानमन्त्री प्रचण्डको अर्को ढुलमुलः संशोधन टुंगो नलागेसम्म निर्वाचन मिति घोषणा नगर्ने
माघ–२१ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक टुंगो नलागेसम्म सरकारले स्थानीय निर्वाचन मिति घोषणा नगर्ने आश्वासन मधेसी मोर्चालाई दिएका छन् ।
सरकार र मोर्चाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्याउन परिमार्जनसहित अघि बढाउने तयारी सुरु भएको जानकारी पनि गराए ।
निर्वाचन तयारीसँगै संशोधन विधेयकलाई एकसाथ अघि बढाउने र विधेयकको टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्ने जानकारी दाहालले गराएका हुन् । उनले मोर्चासँग सहमति गरेर मात्र सरकारले चुनाव मिति घोषणा गर्ने बताएका थिए ।
प्रधानमन्त्रीले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे मोर्चाका नेतालाई जानकारी गराएका थिए । मोर्चाको मागअनुसार स्थानीय निकाय पुन ः संरचना आयोगको प्रतिवेदनमा थप अध्ययन गरी रिपोर्ट बुझाउन समिति गठन गरेको जानकारी प्रधानमन्त्री दाहालले गराएका थिए । –नागरिक दैनिकबाट