बिहीबार चुनाव गर्ने भनेर आयोगलाई पत्र लेखेका प्रचण्डले शुक्रबार भने ‘हैन हैन अहिले कहाँ चुनाव हुन्छ र !’
माघ–२२ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावको तयारीबारे निर्वाचन आयोगलाई चिठी लेखे पनि पत्रमा मिति उल्लेख नगरेको खुलासा गर्दै ‘नआत्तिन’ मधेसी मोर्चालाई वचन दिएका छन् ।
बिहीबारको मन्त्रिपरिषद्बाट ‘जेठ १० भित्र चुनाव गर्ने गरी आयोगलाई पत्र लेख्ने’ निर्णय लिएको २४ घण्टा नबित्दै ‘यू–टर्न’ लिएका दाहालले शुक्रबार बालुवाटारमा मोर्चाका नेताहरुसँग वार्ता गर्दै ‘आयोगलाई पठाएको पत्रमा मिति उल्लेख नगरिएको’ जानकारी गराएका हुन् । मोर्चालाई दिएको आश्वासनसँगै दाहालले चुनावको निर्णयबाट ‘यू–टर्न’ लिनु र मोर्चासँगको अघिल्ला बैठकहरुमा नियमित सहभागी हुने सत्तारुढ कांग्रेस शुक्रबार भने सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दाहालले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वमा बनेको स्थानीय तहको क्षेत्र, संख्या तथा समितिले सहमतिका लागि प्रयास गर्ने भन्दै स्थानीय तह पुनः संरचना आयोगले छुट्याउन बाँकी स्वायत क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको किटानीपछि बाँकी क्षेत्रलाई जनसंख्याका आधारमा स्थानीय तह बनाउन सरकार सकारात्मक रहेको समेत बताएका थिए ।
स्रोतका अनुसार यी सबै कामका लागि समय लाग्ने भन्दै दाहालले संविधान संशोधनपछि हुने चुनावमा सबै पक्षको स्वामित्व रहने भएकाले आफ्नो जोड त्यसैमा रहेको हुँदा कुनै पक्षलाई छाडेर एक्लै निर्णय नलिने बताएका थिए । उनले प्रतिपक्षी एमालेले सीधै चुनाव घोषणा गर्न भनिरहे पनि राजनीतिक सहमति आफ्ना लागि प्राथमिक रहेको प्रस्ट्याएका थिए । –कान्तिपुर दैनिकबाट