राजनीति

सरकार चुनाव नगराउने षड्यन्त्रमाः ओली

सरकार चुनाव नगराउने षड्यन्त्रमाः ओली

माघ माघ २३ । एमाले अध्यक्ष केपी ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउनुपर्ने भए पनि सरकारले पराजित मानसिकताका कारण मिति घोषणा नगरेको बताए ।

सुनसरी सदरमुकाम इनरुवामा शनिबार आयोजित सभामा ओलीले एमालेले देशभर चुनाव जित्ने डरले सरकार निर्वाचनबाट पछि हटेको बताए । राष्ट्रिय स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतामाथि सतिसालझैं खडा भएका कारण देशभरका जनता एमालेमा प्रवेश गर्ने लहर चलेको भन्दै उनले पराजित मानसिकता त्याग्न कांग्रेस(माओवादी केन्द्रका नेतालाई आग्रह गरे । सरकार विदेशीको इशारामा चलेको दाबी गर्दै उनले भारतले निर्देशन नदिईकन पुष्पकमल दाहालले निर्वाचान मिति घोषणा नगर्ने दाबी गरे ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भारतपरस्त भन्दै उनले अरूको निर्देशनमा चल्दा जुनसुकै बेला संवैधानिक र राजनीतिक संकट उत्पन्न हुनसक्नेतर्फ सजग गराए । तीनै तहको निर्वाचनपछि एमाले देशको एक नम्बर पार्टी बन्ने उनले ठोकुवा गरे ।

सधैं उखानटुक्का जोडेर भाषण गर्ने ओली शनिबार निकै गम्भीर रूपमा प्रस्तुत भएका थिए । उनले एमालेको निर्वाचन जित्ने अभियान फागुन १४ गते हुने स्ववियु निर्वाचनबाट सुरु हुने दाबी पनि गरे । मधेसवादी दलहरूले मधेसका जनताको अधिकारको नारा लिएर आन्दोलन गरे पनि उनीहरूले मधेसका जनताको ढाडमा टेकेर व्यक्तिगत स्वार्थपूर्तिको नारा लगाएको ओलीको आरोप थियो । मधेसको नारा उछाल्नेहरू दसौंपटक मन्त्री भए पनि मधेसका जनताको हित र विकासमा नलागेको उनले बताए ।

मधेसवादी दलले एमालेलाई मधेसविरोधी भनेपछि सुनसरी एमालेले जिल्लाको हरिनगरा, दुहबी, लौकही अमाहीबेलामा समेत आमसभा आयोजना गरेको थियो । यसअगाडिका चारवटै सभामा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध प्रयास गरे पनि इनरुवामा भने बिनाअवरोध कार्यक्रम सम्पन्न भएको थियो ।

अन्नपूर्ण

KP Oli

विशेष