अन्तरवार्ता

यस्ताे विज्ञप्ति निकाल्ने मानवअधिकारवादी भन्छन्, ‘ सिके राउतलाई पक्राउ गर्नै हुँदैन थियो’

यस्ताे विज्ञप्ति निकाल्ने मानवअधिकारवादी भन्छन्, ‘ सिके राउतलाई पक्राउ गर्नै हुँदैन थियो’
–इन्द्रप्रसाद अर्याल, अध्यक्ष नेपाल मानअधिकार संगठन नेपाल मानवअधिकार संगठनका नाममा सिके राउतलाई रिहा गर्नुपर्छ भनेर हालै जारी भएको विज्ञप्ति साँचो हो ? –साँचो हो । मैले र मेरो संगठनको तर्फबाट जारी भएको हो त्यो विज्ञप्ति । सिके राउतलाई रिहा गर्नु अपिल गर्दैै विज्ञप्ति जारी गर्न किन आवश्यक ठान्नु भयो ? –हामीले यस्तो विज्ञप्ति किन जारी गरेका हौं भन्ने बुझ्न पहिले हाम्रो संगठनका बारेमा बुझ्नु पर्छ । यो ४४ सालमा स्थापना भएको संस्था हो । यसले प्रजातन्त्र प्राप्तिमा राजनीतिक दलहरुलाई सहयोग गरेको थियो । यो संगठनका संस्थापक ऋषिकेश शाह हुन् । त्यो बेला उपाध्यक्ष देवेन्द्रराज पाण्डे थिए । आन्दोलनमा सहयोग गरेको भनेर अन्तरिम मन्त्रीमण्डलमा पाण्डेलाई अर्थमन्त्री बनाइयो । यो संस्थाले माओवादी द्वन्द्वका बेला पनि वार्ता गर्नुपर्छ भनेर धेरै पहल गर्यो । गंगामाया अधिकारीले न्याय पाउनु पर्छ भनेर वकालत गर्दै आएको छ । यो त तपाईहरुको पुरानो कुरा भयो, सिके राउतलाई चाहिँ किन रिहा गर्नु पर्ने ? – सिके राउतलाई यसरी पक्राउ गरेर हिरो बनाउनु हुँदैन । यसलाई इग्नोर गर्नु पर्छ । यसले धमिलो पानीमा माछा मार्न खोजेको छ । राजनीतिक दलहरुबीच वार्ता भएर मुलुकले गति लिन थाल्यो भने सिके राउतलाई पक्राउ गरिरहनु पर्ने आवश्यकता नै हुँदैन । उ आफै किनार लाग्छ । सिकेलाई अघिल्लो पटक पनि पक्राउ गरियो । अदालतले छाडिदियो । अहिले पनि पक्राउको नाटक गर्ने अनि छाडेर उसलाई किन हिरो बनाउने ? यसकारण उसलाई छाड्नु पर्छ भनेको हो । नेपाल आमालाई बेश्या भन्ने, समुदायबीच मतभेद सिर्जना गर्ने, खुलेआम देश टुक्रा पार्छु भन्नेलाई राज्यले माला लगाइदिनु पर्ने हो ? –सिरहामा १०औं हजार मानिस भेला भए । त्यहाँ सिकेलाई बोल्न दिइयो । राज्ले केही गरेन । अहिले संविधान संशोधनको कुरा चलेको बेला, चुनावको कुरा चलेको बेला उसलाई पक्राउ गरेर किन हिरो बनाइन्छ । नबनाइयोस् भन्ने आशय हो हाम्रो । कुनै पनि व्यक्ति पक्राउ परेपछि मानवअधिकारवादीको काम पक्राउ परेकाहरुलाई न्यायोचित व्यवहार गर, गैरकानुनी थुनामा नराख, न्यायलयमा लैजाउ, काुनन र विधिबमोजिम गर भन्ने हो कि राष्ट्रद्रोही अविलम्ब रिहा गर भन्ने हो ? – हाम्रो आशय के हो भने कमजोर तरिकाले पक्राउ गर्ने, कमजोर मिसिल तयार पारेर छाडिदिने गर्नु भएन । अघिल्लो पटक पनि उसलाई अदालतले छाडिदियो । जसले गर्दा त्यो एकाएक बाहिर आएको मान्छे स्थापित हुने अवसर पायो । अहिले पनि त्यस्तै हुन्छ । यस्ता तत्वलाई किन स्थापित हुने मौका दिने ? इग्नोर गर्नुपर्छ भन्ने हो । अघिल्लो पटक सिके राउतले अदालतमा ‘म राष्ट्र टुक्रा पार्ने अभियानमा छैन श्रीमान्, मधेसीको हक अधिकारका लागि मात्रै बोलेको हुँ’ भनेर छुटेको थाहा छैन र तपाईलाई ? –त्यही त । अदालतमा बयान फेर्छ । अनि बाहिर आएर मैले बोलेको संविधान सम्मत छ भन्छ । भ्रामक प्रचार गर्छ । यसकारण यसलाई पक्राउ गर्नुको औचित्य छैन । यसको पक्षमा तराईमा कोही पनि छैनन् । यसलाई इग्नोर गरेरै हुन्छ भन्ने लाग्छ । फेरि यो मान्छेको कुनै बलियो पृष्ठभूमि पनि छैन । यसलाई दक्षिणले भन्दा पश्चिमले पैसा दिएर उचालेको हाम्रो अनुमान हो । सिके मधेसीको हितका लागि होइन अरुले परिचालन गरेको एजेन्ट मात्रै हो भन्ने हाम्रो विश्लेषण हो । –त्यस्तो हो भने त्यो कुरा चाहिँ विज्ञप्तिमा किन लेख्नु भएन ? –विज्ञप्तिमा सबै कुरा लेखिँदैन । मूल सारमात्रै लेख्ने गरिन्छ । त्यसकारण त्यस्तो कुरा नलेखिएको हो । विज्ञप्ति लेख्दा हामीले जे विषय सम्प्रेषण गर्न खोजको थियौं, त्यो हुन सकेन । त्यसलाई मानिसहरुले फरक तरीकाले बुझे । यसमा हामी दुःखी छौं । अर्को विज्ञप्ति निकाल्दै छौं । विज्ञप्ति त जतिवटा निकाले पनि भइहाल्यो, एउटा कुरा भन्नुस् देश टुक्रा पार्छु भन्ने पनि मानवअधिकार हुन्छ ? –हुँदैन । यस्तो भन्न पाइन्न । राष्ट्रिय अखण्डताविरुद्ध बोल्न पाइन्न । सिके राउतलाई अदालतले आठ दश वर्ष जेल सजाय तोक्यो भने पनि विज्ञप्ति निकाल्नु हुन्छ ? –निकाल्दैनौं । अदालतले गरेको फैसलामा प्रश्न उठाउँन पाइँदैन । त्यसो हो भने अहिले सिकेलाई किन रिहा गर्नु पर्ने त ? –सिकेलाई थुनेपछि उसका सहयोगीहरु बाहिर सक्रिय होलान् । नारा जुलुस आन्दोलन होला । नचाहिँदो विषयमा राज्यले ध्यान लगाउनु पर्छ । यसकारण यस्ता तत्वलाई इग्नोर गर्नुपर्छ भनेको हो । समस्या सिकेलाई थुनेर होइन, प्रमुख दलहरु गाउँ नगएर भएको छ । प्रमुख दलहरुले तराईमा आफ्नो स्थान सुरक्षित गर्ने हो भने सिक आफै तह लाग्छ । सिके पश्चिमबाट फन्डेड भएको अनुमान गर्नु भयो । तपाईको संगठन चाहिँ कताबाट फन्डेड हो ? –हामी कतैबाट पनि होइन । हाम्रो संस्था एनजिओ पनि होइन । एनजिओको भाषा हामीलाई आउँदैन । हाम्रा १ लाख सदस्य छन् । देशभर सञ्जाल छ । त्यसबाटै संस्था चल्छ । विदेशी डलर लिनु भएको छैन ? – छैन । उसो भए किन तिब्बती शरणाथीको विषय उचाल्नु हुन्छ त ? –तिब्बती पनि मान्छे नै हुन् । मानवोचित व्यवहार होस भनेका हौं । सिके राउतलाई छाड्नु पर्छ भनेर विज्ञप्ति निकाल्नुलाई अहिले पनि गलत भयो भनेर स्वीकार गर्नुहुन्न ? शब्दमा अलिकति तलमाथि भयो । त्यो स्वीकार गर्छु । हाम्रो आशय देशहितकै लागि थियो । मान्छेहरुलाई बुझाउन सकिएन । –ध्रुव रिजाल 

विशेष