मेरो परिवार मेरो कथा

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ : पूर्व प्रहरी महानिरीक्षक

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ : पूर्व प्रहरी महानिरीक्षक

 'भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।' सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भने -'सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म ।

मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि ठूलो थियो । जुत्ता पनि अट्दैनथ्यो । अहिले पनि १६ नम्बरको जुत्ता लाउँछु । यो पनि विदेशबाट ल्याइएको ।' गुल्म उद्घाटनका लागि हेलिकप्टरमार्फत सोमबार खोटाङ आउनुभएका महानिरीक्षक राईले विगत सम्झँदै भने -'जुत्ता बनाइ माग्न उसबेला गाउँमा बल्लबल्ल एकजना सार्की मामालाई नमस्कार गरेँ ।' 'उहाँले उत्तिसको काठ हालेर जुत्ता बनाइ दिनुभयो । गाईको नसुकेको छाला परेछ । के लाउन सकिँदो रहेछ र ?' महानिरीक्षक राईले हाँस्दै भने 'एक दिन लगाएको खुट्टामा घाउ नै घाउ भएछ । त्यो देखेपछि बुबाले सुङ्गुरको बोसो बेस्सरी दल भन्नुभयो ।

बोसो दलेर घाममा सुकाएर स्कुल गएँ बेलुका आउँदा त कुकुरले खाइदिएछ । त्यो देखेर बाँकी रहेको अर्को पनि खा भनेर त्यही कुकुरलाई दिएँ ।' गाउँमा जन्मिएर हरेस नखाई अघि बढेको चर्चा गर्दै उनले भने, 'जुत्तै नलगाई भलिबल खेलेँ । भलिबल खेल्दा हामीलाई सिकाउने जापानिज गुरु छक्क परेका थिए ।गुरुलाई एक दिन भोजपुरमा पुर्‍याउँदा कसैको खुट्टामा पनि जुत्ता नदेखेपछि उनी छक्क परेका थिए । जुत्ताको सोलजत्तिकै कडा त हाम्रो खुट्टाको पाइताला हुन्थ्यो । यो हँस्यौली पनि हो सत्य पनि हो ।” गुल्मका जवानलाई महानिरीक्षक राईले सुझाव दिए - 'मैले भन्न खोजेको जवान भाइहरुलाई हो ।

म निवृत्त हुन लागेको छु । मैले यसरी देश र जनताका लागि गरेँ । ढिँडो खाएर हिँडे । दुःख गरेको भन्नुहोला । हाँस्नु होला । हाँस्ने होइन ।  हाम्रो आइजिपी सा’वले यत्रो दुःख गरेर यत्रो हुनु भएछ हामी पनि सक्छौँ भन्ने अठोट लिनुस् ।' उनले थपे - 'हाम्रो सा’व त ढिँडो खाँदो रहेछ भनेर हाँस्ने होइन । ढिँडो खाएकै मान्छे बलियो हुन्छ । स्वस्थ हुन्छ । आफू स्वस्थ भएमात्रै देश र जनताको सेवा गर्न सकिन्छ ।' महानिरीक्षक राईले काम छैन भनेर डाँडामा बसेर जाडो भयो भन्दै कुक्रुक्क भएर नबस्न जवानहरुलाई निर्देशन दिए । 'खाली समयमा पढ्ने हो । अहिले असईको भर्ना खुलेको छ । सबैले आवेदन दिनुस् ।

एकपल्ट फेल भएर के हुन्छ रु अर्को चोटी पक्कै पास हुन्छ । प्रहरीमा शिक्षा पनि उत्तिकै आवश्यक छ ।' सेवाबाट अवकाश भएपछि जन्मथलो फर्कने सोचाई बनाउनुभएका उउनले भने - 'जागिर सकिएपछि घर फर्कन्छु र दुई चार हल गोरु पाल्छु, नसके भेडा गोठाला गर्छु ।' कार्यक्रममा गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई प्रहरी महानिरीक्षक राईले सम्मानपत्र प्रदान गरे ।

दिक्तेल नगरपालिका - ११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो । करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । विसं २०६६ स्थापना भएको गुल्मको भवन सोमबार औपचारिक उद्घाटन गरिएको हो । 

विशेष