राजनीति

कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
माघ–२७ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतसँग भएका विभिन्न सन्धिसम्झौतासम्बन्धी समस्या दुई देशबीच कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने बताएका छन् । अन्तरदेशीय नदीहरुमा जल सुशासनका लागि अन्तर्राष्ट्रिय जल पदयात्राको शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा महतले कूटनीतिक पहलबाटै समस्याको समाधान हुने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्री डा महतले हुलाकी मार्गको निर्माण चाँडै सुरु हुने जानकारी दिँदै गण्डक पीडित र हुलाकी सडकको समस्या छिट्टै दीर्घकालीन रुपमा समाधान हुने बताए। सो अवसरमा गण्डक नदी सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले विसं २०१६ मा भएको गण्डक सम्झौतानुसार नेपाली पक्षले लाभ लिन नसकेको, पानीको बाँडफाँट सन्तुलित नभएको र भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै सम्झौता पूर्ण कार्यान्वयनका लागि दबाब दिन अभियान सुरु गरिएको जानकारी दिए । गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिँचित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण भएको सरंचनानुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिँचित भइरहेकाले पूर्ण सिँचित क्षेत्र बनाउनका लागि आफूले पहल गरेकाले कार्यान्वयनको चरणमा रहेको केवटले बताए । सो अवसरमा सांसद विक्रम खनाल, देवकरण कलवारलगायतले सम्झौता पुनरावलोकन गर्नुपर्ने विचार राखेका थिए । रासस

कूटनीतिक पहल डा प्रकाशशरण महत सन्धिसम्झौता

विशेष