राजनीति

कमल थापाको चुनावी तिकड्मले पशुपति शमशेर समूह हैरान

कमल थापाको चुनावी तिकड्मले पशुपति शमशेर समूह हैरान

माघ २९ । दुई राप्रपा एकभएपछिको महाधिवेशन आउनै लाग्दा कमल थापा पक्षको राजनीतिक तिकड्मबाट पशुपति शमशेर राणा आक्रोशित भएको छ । राजनीति भन्दा पनि सत्ता प्राप्तिका कुशल खेलाडी कमल थापाले आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न पशुपति शमशेर पक्षमै खेल खेलिदिएका छन् । राणा पक्षका एक स्थापित नेताले भने, ‘डा. प्रकाशचन्द्र लोहानीले अध्यक्षमा उठ्छु भन्नु भएकै छैन । आन्तरिक रुपमा त्यस्तो तयारी पनि होइन । तर थापा पक्षको तिकड्म यस्ता हाबी भयो कि लोहनीजी साच्चै उठ्ने जस्तो बनाइयो ।’

पशुपति शमशेर राणा पक्षबाट उनीसहित लोहनी पनि अध्यक्षमा उठे भने महाधिवेशन कमल थापाको पक्षमा जान सक्छ । राणा पक्षमा फुट गराउन सक्दा कमल थापाले अध्यक्षको बागडोर सम्हाल्न केही पनि गाह्रो हुँदैन । ति नेता भन्छन्, ‘हाम्रो समूह उदार छ । धेरै लोकतान्त्रिक पनि छ । थापाजीको समूहमा चाहिँ उहाँको पुरै हैकम छ । उहाँले आफ्नो विकल्पमा अध्यक्ष हुन सक्ने मान्छे नराखी नै पार्टी चलाउनु भएको थियो । ताकि आफ्नो अध्यक्षको पद सधै सुरक्षित होस् ।’

कमल थापाको यो शैलीले उनलाई यसपटक पनि फाइदा पुर्याउने देखिन्छ । कमल थापाले खुलेरै मेरो समूहमा विभाजन ल्याउनुस भनेर अनुमति दिने हो भने पनि राणा समूहले केही गर्न सक्दैन । किनभने थापाविरुद्ध उम्मेदवारी दिने ल्याकत भएकालाई थापाले अगाडि बढाएकै छैनन् । बाँकी ‘एसम्यान’ हरु थापाविरुद्ध जाने हिम्मत गर्दैनन् ।

महाधिवेशनको अन्तिम तयारीमा रहेको राप्रपाले क्षेत्र र जिल्ला तहको अधिवेशन सकिसकेको छ । क्षेत्रमा पशुपति शमशेर राणा समूह बलियो देखिएपछि थापा समूहले जिल्ला अधिवेशन आफ्नो पक्षमा पार्ने प्रयास गरेको थियो । यसका लागि थापा समूहले हुनेसम्म गरेकै पनि थियो । तर पनि अहिले छनोट भएका प्रतिनिधिमा राणाको ६५ थापाको ३५ प्रतिशत हिस्सा रहेको खबरले थापा समूह केही विचलित भएको बुझिएको छ ।

यति हुँदा हुँदै पनि कमल थापा अध्यक्षमा निर्वाचित हुन भने सक्छन् । किनभने पटक पटक सत्ता समिकरण गरेर लालची राजनीतिमा अब्बल थापा यस्तो मामिलामा राणा भन्दा धेरै अगाडि छन् । साम दाम दन्ड भेदकाे नीति दुरूपयाेग गर्रन  जानेका थापासँग राणाकाे जेन्टलमेन राजनीतिले कति काम गर्रछ हेर्रन बाँकी छ।

गत मंसिर ६ गते एक भएका दुई राप्रपाको महाधिवेशन फागुन ६ देखि ९ सम्म काठमाडौंमा हुँदैछ ।

विशेष