प्रचण्डले बाबुरामलाई भने, ‘गतिरोध अन्त्य गर्न त मन थियो तर जटिलतामा फसेँ’
माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले वर्तमान राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर संयोजक भट्टराईले संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुनस्संरचना र निर्वाचनबारेको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै कुरा टुंग्याउन खोजे पनि केही जटीलताहरुले गर्दा आफू अप्ठेरोमा परेको बताए ।
संयोजक भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै मुआब्जा बढाउन गरेको मागका बारेमा पनि सम्बोधन गर्न आग्रह गरेका थिए । त्यसैगरी बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्ति पार्टी, नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको आज १०औं दिन भइसक्दा पनि राज्यपक्षबाट बेवास्ता भएकोले उनीहरुका माग छिटो सम्बोधन गर्न पनि संयोजक भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।