राजनीति

कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकता भुल्दै गए – नेता खनाल

कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकता भुल्दै गए – नेता खनाल
माघ - २९ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। राजधानीमा सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘राप्ती प्रवाह’ श्रद्धाञ्जलि स्मृति अङ्कको विमोचन गर्दै नेता खनालले स्व नेत्रलालबाट अहिलेका कम्युनिष्टले धेरै कुरा सिक्नुपर्ने बताए। उनले स्व नेत्रलाल राष्ट्र र राष्ट्रियता तथा नेपाली जनताका अधिकार प्राप्तिका लागि निरन्तर लडिरहने बहुआयामिक नेता भएका बताए। विसं २००१ मा दाङमा जन्मनुभएका नेत्रलाल २०४१ जेठ ६ गते सहादत हुनुभएको थियो । दङ्गाली जनताबीच माडसावका नामले परिचित नेत्रलाल समाज सुधारक पनि थिए। सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा आयोजित उक्त विमोचन कार्यक्रममा नेकपा मालेका नेता, सिपी मैनालीले नेत्रलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा प्रगतिवादी साहित्यकार र समाज सुधारक अभियन्ता थिए। कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारीका नेता मोहन वैद्यले देशघाती र देशद्रोहीलाई थर्कमान गराउनसक्ने नेत्रलाल जस्तै नेताको अहिले अभाव भएको बताए। हाल दाङको देउखुरी चैलाहीमा सहिद नेत्रलाल स्मृति भवन निर्माण भइरहेको छ । सो भवन निर्माणका लागि सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । विमोचित उक्त पुस्तकका सम्बन्धमा साहित्यकार अमर गिरीले टिप्पणी गरेका थिए भने कार्यक्रममा वेदराम भुसाल, प्रदीप नेपाल, नारायण शर्मा, रामचन्द्र भट्टराईले स्व नेत्रलालको व्यक्तित्व र प्रकाशित कृतित्वका सम्बन्धमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

Jhalanath Khanal

विशेष