कमलको रेखा थापा मोहले कार्यकर्ता निराश
फागुन १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले खुलेरै नायिका रेखा थापा पक्षधरता देखाउन थालेपछि लामो समय योगदान दिएका कार्यकर्ताहरु रुष्ट भएका छन् ।
यहि फागुन ६ देखि ९ मा हुन लागेको महाधिवेसनमा कार्यकारी अध्यक्ष कमल थापाले पुराना कार्यकर्ताको भाग खोसेर रेखा थापालाई प्रतिनिधि बनाए पछि कार्यकर्तामाझ रेखा पनि विवादित बनेकी छन् ।
समाज सेवा वा राष्ट्र सेवा भन्दा पनि राजनीतिमा लागेर मन्त्री बन्ने सपना पालेकी रेखाको पछिल्लो क्रियाकलाप र गतिविधिमा आलोचना हुन थालेको छ । सबैभन्दा ठूलो विवाद त रेखालाई काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि बनाइएपछि उत्पन्न भएको छ । रेखाको गृह जिल्ला मोरङ हो भने उनको आफ्नो गाउँ सलकपुर हो । सलकपुरमै रेखालाई नेता कार्यकर्ताले पराजित गरिदिने देखिएपछि उनले कमल थापालाई दबाब दिएर काठमाडौंबाट प्रतिनिधि बनेकी हुन् ।
रेखालाई प्रतिनिधि बनाउन कमल थापाले आफ्ना कोषाध्यक्ष तथा चलचित्र निर्माता उद्धव पौडेललाई निर्देशन दिएका थिए । उद्धबले पुराना कलाकारहरुकै लागि प्रतिनिधि नपुगिरहेको अवस्थामा अस्ति भर्खर राप्रपामा प्रवेश गरेकी रेखालाई प्रतिनिधि बनाउन नसकिने बताएका थिए । तर थापाको दबाबका अगाडि उद्धबले घुँडा टेके । र अहिले रेखा पनि राप्रपाको प्रतिनिधि बनेकी छन् ।
माघ २३ गते भएको काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेशनमा भने रेखा अनुपस्थित थिइन् । उनी नगए पनि कमल थापाको आदेशमा प्रतिनिधी बनाएको राप्रपा उच्च स्रोतले जानकारी दिएको छ । यसपछि रेखा थापाविरुद्ध चार नम्बर क्षेत्रका नेता कार्यकर्ताले राप्रपा कार्यलयमा उजुरी समेत दिएका छन् ।
कमल थापाको आशिर्वादबाट प्रतिनिधि बनेकी रेखा थापा पार्टीको केन्द्रीय सदस्यमा उठ्ने भनेर प्रचार प्रसार गरिरहेकी छन् । पार्टीका एक नेता भन्छन्, ‘यो तरिकाले सोझै केन्द्रको नेता बन्न पाइने भए त किन वर्षौ राजनीति गर्नु ? रेखा चुनावी प्रतिस्पर्धामै आइन भने थाहा नतिजा के हुन्छ थाहा पाइहाल्छिन् ।’
माओवादीमा हुँदा रेखा थापा अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्र हुने प्रयासमा थिइन् । दाहालको विश्वास पात्र बन्न पनि नसक्नु, मतदाता नामावलीमा नाम नै नभएपछि पराजित हुने क्षेत्रको उम्मेदवार हुन पनि नपाएपछि उनी विरक्तिएकी थिइन् ।