विप्लव माओवादीको आठौं महाधिवेशन सुरु, नेताहरु माओ पोसाकमा

फागुन–१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले काठमाडौंको खुल्ला मञ्चमा सभाको आयोजना गरेको छ । विप्लव माओवादी पार्टीले आठौं महाधिवेशन उद्घाटनको अवसरमा सभाको आयोजना गरेको हो ।
उद्घाटनसत्र सुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित गरी काठमाडौंका तीन स्थानबाट जुलुससहितको र्याली निकालिएको थियो । उपत्यका र बाहिरबाट आएका कार्यकर्ताहरुलाई समेत समेटेर बबरमहल, कालीमाटी र लैनचौरबाट आएको र्याली शहिदगेटमा एकीकृत भएको थियो । त्यहाँबाट पार्टी महासचिव नेत्रविक्रम चन्दको अगुवाईमा खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।
काठमाडौंमा उद्घाटन सत्र सकिएपछि नेताहरु रोल्पा प्रस्थान गर्नेछन् । रोल्पाको थवाङमा फागुन ४ गतेदेखि महाधिवेशनको बन्दसत्र हुनेछ । बन्दसत्रमा देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।
नेताहरुको माओ पोसाक
विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको उद्घाटन सत्रमा माओवादी नेताहरु एकै पोसाकमा देखिएका छन् । जनयुद्ध दिवसको अवसर पारेर आईतबार आयोजित कार्यक्रममा माओवादी नेताहरु चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङको जस्तो पोसाकमा देखिएका हुन् ।
खुल्ला मञ्चमा आयोजित समारोहमा विप्लवले पार्टीको आठौं महाधिवेशन उद्घाटन गरेका हुन् ।
आठौं महाधिवेशन
विप्लव माओवादी

