राजनीति

राप्रपाको महाधिवेशनका लागि तीनहजार बढी प्रतिनिधि

राप्रपाको महाधिवेशनका लागि तीनहजार बढी प्रतिनिधि
फागुन - ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट गरेको छ । पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट सो सङ्ख्यामा प्रतिनिधि छनोट भएका हुन् । काठमाडौँको भृकुटीमण्डपमा यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब तीन सय पर्यवेक्षक सहभागी हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीलाई धेरै लोकतान्त्रिक बनाउनका लागि शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको थियो । तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएको तीन महिनाभित्र एकता महाधिवेशन गर्न लागिएको छ । दुबै पार्टी एकीकरण अगाडि नै मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनका लागि सहमत भइसकेका थिए । राजतन्त्रको बारेमा महाधिवेशनबाट निर्णय लिने भनिएको भएपनि पार्टीको आन्तरिक बैठकमा संवैधानिक राजतन्त्र कायम गर्ने समझदारी बनिसकेको छ । सङ्घीयतालाई जनमतका आधारमा टुङ्गो लगाउनेबारेमा छलफल भइरहेको छ । निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको संयोजकत्वमा मूलसमारोह समिति गठन भइसकेको छ । उक्त समिति अन्तर्गत विभिन्न ११ उपसमिति समेत गठन भई तोकिएको जिम्मेवारीअनुसार काम भइरहेको जनाइएको छ ।

राप्रपा

विशेष