राजनीति

राप्रपा महाधिवेशनको चहल–पहल सुरु

राप्रपा महाधिवेशनको चहल–पहल सुरु
फागुन - ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौंमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् । देशका विभिन्न स्थान तथा प्रवासबाटसमेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउनेक्रम सुरु भएको हो । देशभरबाट तीन हजार तीन सय १५ प्रतिनिधि छनोट भएका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहल–पहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनोटकार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिए । प्रतिनिधिको नाम, छनोट स्थान तथा तहअनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्तावेज र आर्थिक कार्यपत्र छपाइकार्य पनि सम्पन्न भइसकेका छन् । यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई आवास तथा भोजनको व्यवस्था पार्टीले मिलाएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । यसैगरी, अध्यक्षसहित १६१ सदस्यीय कार्यसमितिका लागि विधान संशोधन भइसकेको छ । अध्यक्ष पदमा कमल थापाको नाममा सर्वसम्मति जुटेकाले सो पदका लागि चुनाव गर्नु नपर्ने भएको छ । अब केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ । यसपटकको एकता महाधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने भनिएको भएपनि पछिल्लो समयमा शीर्ष नेतृत्वको प्रयासमा महाधिवेशन हुनुअगावै सर्वसम्मत् नेतृत्व चयन गरिएको सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मंसिर ६ गते एकीकरण भएपछि तीन महिनाभित्र गर्न लागिएको महाधिवेशनमा काठमाडौं, ललितपुर र भक्तपुरमा महाधिवेशनको प्रचारप्रसार विहीबार (आज)देखि सुरु गरिएको छ । पार्टीले हिन्दूराष्ट्र, राजतन्त्र र स्थानीय स्वायत्त शासनको पक्षमा महाधिवेशनकेन्द्रित गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालले हिन्दूराष्ट्र, राजतन्त्र र संघीयतामा जनमत लिएर निर्णय गर्नुपर्ने अडान राख्दै आएकाले पनि अहिले एकीकृत राप्रपालाई सोही मार्गमा हिँडाउने भएको छ । माइकिङ, प्रचार सामग्री वितरण तथा काठमाडौं उपत्यकाका तीन सहरका विभिन्न स्थानमा पार्टीको झन्डा झुन्ड्याउने कार्य प्रारम्भ गरिएको छ । महाधिवेशनका लागि पाँच लाख झन्डा निर्माण गरिएको बताइएको छ ।
कृष्णराज गौतम

राप्रपा

विशेष