राजनीति

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत
फागुन ५ ।  नेकपा (माओवादी) को आजदेखि रोल्पाकाे थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको माओवादीले बताएको छ । शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुने बताइएको छ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको स्थानीयवासी अमित घर्तीले बताए। शान्ति प्रक्रियापछि माओवादी नेतालाई आफ्नै गाउँघरमा देख्दा जनयुद्धकालीन समयको याद आएको उनले बताए। बन्दसत्र सुरु हुनुअघि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बन्दसत्रको रुपरेखाबारे जानकारी गराएका थिए। यही फागुन १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने बताइएको छ ।

विशेष