राजनीति

राप्रपा अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा डा. प्रकाशचन्द्र लोहनीको उम्मेदवारी घोषणा
फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने, ‘एकतन्त्रीय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।’ राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उल्लङ्घन हुँदा लाखौं कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा लोहनीले बताए । महाधिवेशनमा आफ्नो विजय सुनिश्चित रहेको भन्दै उनले पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गरे । पार्टी एकता हुँदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उनको भनाइ छ । पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहेका डा लोहनीले धर्म जीवनको अङ्श भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफ्नो पार्टी रहेको उल्लेख गरे । दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यस अघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गरेका थिए ।

Prakash Chandra Lohani

विशेष