राजनीति

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको यस्ताे विज्ञप्ति (विज्ञप्तिसहित)

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको यस्ताे विज्ञप्ति (विज्ञप्तिसहित)
फागुन – ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै अहिले भोगिरहेको व्यवस्था मानवीय हक र हित विपरित भएको बताएका छन् । उनले हरेक वर्ग र पेशाका नागरिकले सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र भएको भन्दै अहिले भोगिएको व्यवस्थाले जनता खुसी नभएको संकेत गरेका हुन् । उनले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा आफ्नो जिजुबुवा त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण गर्दै प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्ने भएपनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्नेमा जोड दिएका छन् । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा एक सुभकामना सन्देश जारी गर्दै पूर्वराजाले भने ‘किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सूरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले रनष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैँलाई प्रश्न गर्नू पर्ने घडी आएको छ ।’
नेपाली दिदीबहीनी तथा दाजुभाइहरु, ६७औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुवा राष्ट्रपिता श्री छ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण गर्न चाहन्छु । प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होईन मानवीय हक र हितकोे आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन्, तर जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने मलाई लाग्दछ । राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो । किसानले खेतमा, मजदुरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पीडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, युवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैँलाई प्रश्न गर्नु पर्ने घडी आएको छ ।

श्री पशुपतीनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।

Gyanendra Shaha

विशेष