राजनीति

६७ औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

६७ औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन ७ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

एक सय चार वर्षीय जहानिया राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण ल्याएको अभियोगमा उनिहरुलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले हरेक वर्ष काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताइन ।

प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र नागरिकको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।

Democracy Day

विशेष