निर्वाचनको विकल्प छैनः सिटौला

फागुन - ७ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उनले भने, “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” ।
नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गरे।
स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने,– “आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई बिर्सनु हुँदैन ।”
सो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन (सङ्घ) झापाको अध्यक्षमा कवीन्द्रविक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ ।
कृष्णप्रसाद सिटौला