कला साहित्य

सबै पुस्ताका कलाकारलाई समेटेर कला प्रदर्शनी

सबै पुस्ताका कलाकारलाई समेटेर कला प्रदर्शनी
फागुन–७ । ३५० भन्दा बढी सहभागी भएको कला प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । कला प्रदर्शनी अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गरेको हो । यस प्रदर्शनीमा जीवरत्न शाक्य, शंकरराज सिंह सुवाल, गेहेन्द्रमान अमात्य, हरेराम जोजु, सुरेन्द्र प्रधान, सुषमा राजभण्डारीदेखि नर्सरीमा पढने बालबालिका चित्र राखिएको छ । सातौं अल्फ्रेस्को आर्ट एक्जिविशन कम कम्पिटिशनमा राखिएका कलामा नेपाली परिवेश र मौलिक विषयको प्रधानता रहेको छ । प्रतियोगितासहितको सो प्रदर्शनीको व्यवसायी अम्बिका श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्दै नेपाली कलामा यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउँदै भनिन्, ‘प्रदर्शनीले नेपाली कलालाई समेटेको छ । अल्फ्रेस्कोले यस्तो प्रदर्शनीलाई हरेक वर्ष निरन्तर रुपमा गर्नुपर्छ ।’ प्रदर्शनीमा व्यवसायी जयराम लामिछानेले प्राइभेट सेक्टर र गर्भमेन्टले आर्ट सेक्टरलाई माथि उठाउनका लागि काम गर्नुपर्ने बताए । प्रदर्शनीका संयोजक श्यामकृण श्रेष्ठले नेपाली कला क्षेत्रका सबैलाई अवसर प्रदान गर्ने र नयाँ कलाकारलाई अगाडि बढाउने उद्देश्यसहित कार्यक्रम गरिएको बताए । थाङ्का/पौभा, समसामयिक, बाल कला प्रदर्शनीमा राखिएको र सबै पुस्ताका कलाकारलाई एकैठाउँमा ल्याइ कलाकृतिमा विविधता दिन खोजेको प्रदर्शनीका संयोजक श्रेष्ठले बताए । नेपाली कलामा सबै पुस्ताका कलाकारलाई समेटेर गरिएको प्रदर्शनीले कलामा देखापरेका विविध प्रवृत्ति र शैलीलाई एकैपटकमा बुझ्न सकिने सहभागी कलाकार राजकुमार रानामगरले बताए । उनले भने, ‘प्रदर्शनीले कलाकारलाई बाहिर ल्याउन र उनीहरुलाई चिनाउन समेत सघाउँ पुग्ने भएकाले यस्ता गतिविधि नियमित गर्नुपर्दछ ।’ प्रदर्शनीमा सहभागी अर्का कलाकार राजकृष्ण मर्हजनले यस्ता प्रदर्शनीले कलाकारलाई अवसरसँगै कलाका विविध आयामका विषयमा संवाद गर्ने, बुझ्ने र चिन्न सघाउँ पु¥याउने बताए । उनले थपे, ‘जेनेरेशन ग्यापलाई यस प्रदर्शनी पुर्ने काम गरेको छ ।’ क्याम्पस तथा स्कुलस्तरका विद्यार्थीबीच प्रतिस्पर्धा समेत गरिएको सो प्रदर्शनीमा माध्यमिक तहमा अक्षरा सिंह लिंकन स्कुल, निमावि तहमा खुशी सर्राफ मोर्डन इण्डियन स्कूल, प्रावी तहमा आर्या लामा रेडन उमावि र कलेजस्तरको प्रतियोगितामा लिजा गैरेले बनाएको चित्र पहिलो भएका छन् । क्याम्पस स्तरको प्रतियोगितामा सञ्जय श्रेष्ठ दोस्रो, दिपेश सिंजाली मगर तेस्रो र झन्कार सापकोटा, रुद्रप्रताप अधिकारी र श्रीतिका सिंहले सान्त्वना पुरस्कार पाएका छन् । त्यस्तै, मावि तहतर्फ श्रीजा शाक्य दोस्रो, सुप्रिया राई तेस्रो र रविन शाक्य, रुपेश महर्जन, केशव मल्लले सान्त्वना स्थान हासिल गरे। निमावितर्फ सुभम रन्जित दोस्रो, सोनी लामा तेस्रो र सचिन श्रेष्ठ, दिवस अधिकारी, सपना दासले सान्त्वना स्थान जिते। त्यस्तै, प्राथमिक तहतर्फ निशान लामा दोस्रो, आर्यन सर्राफ तेस्रो र रेनुका मगर, रन्जित बानियाँ, समिर राई सान्त्वना पाए । सो प्रदर्शनीमा प्रतियोगितामा सामेल बाहेकका अरु चित्र पनि राखिएको छ । जसमा एसओएस बालग्रामका बालबालिकाले बनाएका चित्र पनि छन् । प्रदर्शनी एक साता चल्ने आयोजकले बताए ।

कला प्रदर्शनी

विशेष