अन्तरवार्ता

जसले चुनाव गराउन खोज्छ, बुझ्नुहोस्, त्यो सकिन्छ

जसले चुनाव गराउन खोज्छ, बुझ्नुहोस्,  त्यो सकिन्छ

–राजेन्द्र महतो, अध्यक्ष सद्भावना पार्टी

सरकारले घोषणा गरेको निर्वाचनको कुनै अर्थ छैन । मधेस विना चुनाव गराउनुको के अर्थ छ ? मधेस बिनाको देश चलाउनुको के अर्थ छ ? यसो गर्न खोज्नु नै गलत छ । यदि जबर्जस्ती नै चुनाव गराउन खोजियो भने अरु क्षेत्रमा त चुनाव होला पनि मधेसमा सम्भव छैन । हामी हुन दिँदैनौं । जनताले हुन दिँदैनन् । जनता अधिकारप्राप्तिका लागि लडिरहेका छन्, तर कही केही पनि भएकै छैन जसरी सरकार चुनावको राग अलापिरहेको छ ।

सरकारले चुनाव घोषणा लगत्तै हामीले पनि आन्दोलन गर्नुको विकल्प छैन । विल्कुल शान्तिपूर्ण तर सशक्त कार्यक्रमहरु गर्ने छौं । भण्डाफोर कार्यक्रम पनि राखेका छौं । यो अधिकार प्राप्तिको आन्दोलन हो । यसकारण अधिकार प्राप्ति नहुञ्जेल आन्दोलन रोकिनेवाला छैन ।

फेरि नाकाबन्दी ?

आन्दोलन भन्नेबित्तिकै मधेसी मोर्चाले फेरि नाकाबन्दी गर्छ कि भन्ने पर्छ । काठमाडौंका जनताले नाकाबन्दीमा धेरै दुःख पाएको कुरा गरेका छन् । तराईमा आन्दोलन गर्दा काठमाडौंका जनताले साथ दिएको भए हामी नाकासम्म पुग्नै पर्ने थिएन । नाकाबन्दी राम्रो कुरा होइन । तर सरकारले हामीमाथि अत्याचार गर्यो । जनतालाई राज्यले गोली ठोकेर मार्यो । राजमार्गबाट लखट्दै नाकामा पुर्यायो । तब हामीले नाकाबन्दी गर्नु परेको हो ।

एम्बुलेन्सबाट घाइते प्रहरी थुतेर किन मारियो त ?

मधेसी जनतालाई प्रहरीले अत्याचार, दमन गरेपछि नाकाबन्दी भएको त सबैलाई थाहा नै छ । जहाँसम्म एम्बुलेन्सबाट घाइते प्रहरी थुतेर मारिएको घटना छ त्यो स्वभाविक हो । आन्दोलनमा यस्तो हुनु कुनै नौलो कुरा होइन । ४६ सालको आन्दोलनमा न्यूरोडमा चार जना प्रहरीको हत्या पनि आन्दोलनकारीबाटै भएको थियो । यसकारण आन्दोलनका क्रममा जनता आक्रोशित भएको बेला यस्ता घटना हुने गर्छन् । यसलाई सामान्य रुपमा लिनु पर्छ ।

संविधान संशोधन

अब मधेसी जनताले खोजे जस्तो संविधान संशोधन हुनुपर्छ । संशोधन प्रस्तावमा परिमार्जन गर्नु पर्छ । परिमार्जनसहित संविधान संशोधन गर्नु पर्छ । त्यसो नभए यो निर्वाचन सम्भव छैन । हामी हुन दिँदैनौं । राष्ट्रिय सभा गठन विधि संशोधन, गाउपालिकामा भएको गल्ति संशोधन आदि हुनुपर्छ । संविधान जारी गर्ने काम प्रमुख तीन दलले गरेका हुन् । संविधान संशोधन पनि यीनैले गर्नुपर्छ । हामीमाथि अन्याय गर्ने बेला सबैले मिलेर गर्ने अनि अहिल संशोधन गर्ने बेला आलटाल गर्न पाइँदैन ।

कुर्सी गिराएर ओलीलाई सजाय

केपी ओलीले मधेसी जनतामाथि जुन अन्याय र अत्याचार गरे त्यो अत्याचारको सजाय उनको कुर्सी खोसेर दिएका हौं । ओली त पापी मात्रै होइन महापापी र महाअपराधि हुन् । गणतन्त्रको कुरा गर्दा बयलगाढा चढेर अमेरिका पुग्ने कुरा गर्ने, संघीयता चाहिएकै छैन भन्ने केपी ओलीकै कारण संविधान कार्यान्वयन भइरहेको छैन ।

हिजो ओलीलाई कुुर्सीबाट हटाएको पनि हामीले हो, एमालेमुक्त मधेस अभियान चलाएको पनि हामीले हो । अब संविधान संशोधनमा पनि एमालेले नै मत खसालेर पाप पखाल्नु पर्छ । नत्र राजा ज्ञानेन्द्रले गराएको जस्तो चुनाव त जसले पनि गर्न सक्छ ।

चुनावबाट अधिकार प्राप्ति हुँदैन

चुनावबाट सरकार बनाउन सकिन्छ । सत्ता सञ्चालन गर्न सकिन्छ । किनभने भोटमा त जालझेल पनि हुन्छ । यस्तो भोटले परिवर्तन गर्न सकिँदैन । परिवर्तनको आधार निर्वाचन मात्रै हुँदैन । परिवर्तन गर्ने भनेको सडकबाटै हो । इतिहास पल्टाएर हेर्नुस जनताले अधिकार भोटबाट होइन संघर्षबाटै पाएका छन् ।

(सद्भावना अध्यक्ष महतोसँग गरिएको कुराकानीमा आधारित)

विशेष