राजनीति

‘म्यानपावरवाली’ महामहिमहरु

‘म्यानपावरवाली’ महामहिमहरु

फागुन १० । सरकारले बढी नेपाली कामदार जाने दुई मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनमा म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि विज्ञहरूले उनीहरूबाट नेपालीको हितमा भन्दा आफ्नो व्यावसायिक स्वार्थमा काम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यूएईमा आशा लामा र ओमनमा शर्मिला पराजुलीलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । लामा कांग्रेस र पराजुली मधेसी जनअधिकार फोरमको कोटामा राजदूत सिफारिस भएका हुन् ।

पूर्वराजदूत सुर्यनाथ मिश्रले म्यानपावर व्यवसायीलाई राजदूत बनाउनु गलत हुने बताए । ‘खाडीमा जति नेपालीको दयनीय स्थिति छ, ती सबै म्यानपावरवालाहरूको बदमासीले हो,’ चार वर्ष कतारमा राजदूत भएका मिश्रले कान्तिपुरलाई भने, ‘म्यानपावरवालालाई राजदूत बनाउनु माछाको रेखदेख गर्न बकुल्लालाई जिम्मा दिए जस्तै हो ।’

राजदूत सिफारिसमा परेकी इलामकी लामा दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा जनमोर्चा नेपालका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । उनले १४ मत पाएकी थिइन् । उनी आर्थिक प्रभावमा पारेर कांग्रेसको कोटाबाट राजदूतको सिफारिसमा परेको स्रोतको दाबी छ । उनको सबभन्दा ठूलो व्यापार संयुक्त अरब इमिरेट्स (यूएई) मै छ ।

२०६२ बाट म्यानपावर क्षेत्रमा हात हालेकी उनले रुद्रबहादुर भट्टराईसँग मिलेर ‘जब ट्रयाक’ चलाएकी थिइन् । जब ट्रयाक रिक्रुटिङले साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा पुरुष र महिला कामदार पठाउँथ्यो । ‘जब ट्रयाक’ ले यूएईमै बढी कामदार पठाउँदै आएको छ । जब ट्रयाकबाट ३ हजार ४८ कामदार विदेश गइसकेका छन् । जब ट्रयाकबाट गएका कामदारले सम्झौताअनुसार सेवा सुविधा नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरीसमेत हालेका थिए । साउदीको अन्तब इस्ट फर अपरेसन एन्ड मेन्टिनेसनल कम्पनीमा प्रक्रिया छलेर एक सय ११ महिला कामदार पठाएकोप्रति आपत्ति जनाउँदै नेपाली दूतावासले लामाको म्यानपावर कम्पनीलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्रसमेत पठाएको थियो ।

लामाले म्यानपावरसँगै आशा फाउन्डेसन खोलेर महिलालाई तालिम सिकाई विदेश पठाउँदै आएकी छन् । उनले विदेशमा अलपत्र महिला कामदारलाई उद्धार गरी पुनस्स्थापनासमेत गर्दै आएकी छन् ।

ओमनका लागि नेपाली राजदूतमा सिफारिस भएकी पराजुली दुबईलाई आधार बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील छिन् । उनलाई केपी ओली नेतृत्वको सरकारले समेत मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा राजदूत सिफारिस गरेको थियो । पराजुलीबाट ठूलै आर्थिक फाइदा लिएपछि दबाबमा परेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पुनस् राजदूतमा सिफारिस गराउन दाहाल सरकारसमक्ष एकसूत्रीय माग राखेको स्रोतको भनाइ छ ।

चन्द्रगढी झापामा हुर्केकी ३६ वर्षीया पराजुली हाल ‘वेद र बाइबलमा महिला सुरक्षासम्बन्धी’ विषयमा विद्यावारिधि गर्दै छिन् । उनले अंग्रेजी साहित्यमा स्नाकोत्तर गरेकी छन् ।

उनको परिवारै म्यानपावरको क्षेत्रमा क्रियाशील छ । उनी दुबईमा रहेको ‘बीएसडी ह्युमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ र नेपालमा रहेको म्यानपावर फ्लोरिडा ह्युमन रिसोर्स सोलुसन र बंगलादेशमा रहेको ग्रिन ल्यान्ड ओभरसिजरट्ेरनिङ सेन्टरका ‘ओभरसिज डाइरेक्टर’ हुन् । विवादमा तानिएपछि परिवारले उनी यस व्यवसायबाट अलग भएको दाबी गरेको छ ।

बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिन्छ । ‘१० वर्षभन्दा बढी समयदेखि मानव संसाधन आउटसोर्सिङ (सप्लाइ) गर्ने कार्यमा उच्च अनुभव छ,’ बीएसडीको वेबसाइटमा उल्लेख छ, ‘कामदारको सप्लाई लाइनको अन्त्यसम्म गएर काम गर्नुको साथै सही कामदारको आपूर्ति तथा छनोट गर्छौं ।’

रोयल डाइमन्ड कम्पनीले यूएई तथा खाडी क्षेत्रका कम्पनीको मागअनुसार कामदार आपूर्ति गर्छ । यसले कम्पनीमा गएर मागपत्र खोज्ने र नेपालसहित स्रोत देशमा पुगेर कामदार खोजेर दिने रोयलको वेबसाइटमा उल्लेख छ । ‘दुबई बेस यो कम्पनी कामदार आपूर्तिको क्षेत्रमा अग्रणीमा पर्छ । हामी उड्डयन, इन्जिनियरिङ, स्वास्थ्य सेवा, हस्पिटालिटी, कार्यालय साहायक, सुरक्षा गार्ड तथा व्यवस्थापन सहजीकरणका लागि कामदार आपूर्ति गर्छौं,’ रोयलको वेबसाइटमा भनिएको छ, ‘निजी, सार्वजनिक, अर्धसरकारी र सरकारी क्षेत्रमा कामदार आपूर्ति गरिरहेको छ । कामदार आपूर्ति गर्ने कार्य दैनिकजसो बढिरहेको छ ।’ पराजुलीको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिजले पनि कामदार पठाउने गर्छ ।

नेपाल बिजनेस काउन्सिल यूएईको उपाध्यक्षसमेत रहेकी पराजुली यूएई आउनुअघि मलेसियामा कार्यरत थिइन् । मलेसियामा विवादमा परेपछि उनी यूएई पुगेकी हुन् । पराजुलीका अनुसार उनले काठमाडौंमा डिस्काउन्ट कार्डबाट बिजनेस सुरु गरेकी हुन् । ‘अहिले मेरो शिक्षा, हाइड्रोपावर र ट्राभलको क्षेत्रमा लगानी छ । १७ वर्षको उमेरदेखि पढाइ र बिजनेसलाई सँगै अघि बढाएकाले छोटो समयमै सफलता पाउन सकेको हो,’ उनको दाबी छ, ‘ओमनमा राजदूत भएर जान पाए दुई देशबीच हुन नसकेका सम्झौता गराउन सक्छु । नेपाली कामदारको हितमा महत्त्वपूर्ण काम गर्छु ।’

कान्तिपुर

Asha Lama Sharmila Dhakal Parjuli

विशेष