राजदूतमा म्यानपावरवाली आशा सिफारिस भएपछि देउवाको घरमा लफडा
फागुन ११ । एकाबिहानै शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो । सोमबार दिउँसोको दोस्रो क्याविनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी मानपावर व्यवसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासँग पड्किएका हुन् ।
पेशागत आधिकारिक संघका बहालवाला अध्यक्ष विमल ढकाल पनि सँगै थिए । प्रज्ञानको भनाइ थियो, ‘यो पार्टीको मान्छे नै होइन । कसरी कोटाबाट नियुक्त भयो ? यदि यस्तै हो भने हामी पार्टी छाड्छौं ।’ देउवाले जवाफ दिए ‘बढी बोल्छौं ? छाड्ने भए छाड न त अरु आउँछन् । मास बेस्ड पार्टीमा मान्छेहरु आउने जाने भइरहन्छ ।’
त्यहा पुग्ने व्यवसायीमा तिलक रानाभाट, विष्णु गैरे, कुमुद खनाल, थिरमणि पौडेल, ऋषि शर्मा, नरेन्द्र ढकाल र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी सदस्य सीता देवकोटा थिए । –जनआस्था साप्ताहिकबाट