राजनीति

फिल्म क्षेत्रमा मैले आमूल परिवर्तन गरेँ, अब राजनीतिमा गर्छु –रेखा थापा

फिल्म क्षेत्रमा मैले आमूल परिवर्तन गरेँ, अब राजनीतिमा गर्छु –रेखा थापा

फागुन - १४ । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशनबाट अभिनेत्री रेखा थापा र गायिका तथा कलाकार कोमल ओलीे केन्द्रीय सदस्यमा निर्वाचित भए । कलाकारको सहभागिताले राम्रै चर्चा कमाएको राप्रपा अहिलेकाे चौथो ठूलो पार्टी हो ।

नायिका थापाले चुनावको जीतसँगै जिम्मेवारी बढेको महशुस भएको बताइन् । अब पार्टीमा तन, मन र वचनले लाग्ने उनले स्पष्ट पारिन् । राजनीतिलाई ‘डर्टी गेम’ भनिन्छ, फेरि तपाईं किन यो फोहोरी खेलमा आउनुभयो ? भन्ने प्रश्न खस्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘फोहोर छ भनेर सबैले छाड्ने त ? कोही त आउनु पर्ला नि त्यो फोहोर हटाउन । फोहोरी खेललाई सफा बनाउन युवाहरुको भूमिका आवश्यक छ ।’

राप्रपामा नायिका थापा महिला आरक्षण कोटाबाट निर्वाचित भएकी हुन् । निर्वाचन कसरी तपाईको पक्षमा गयो होला ? भन्ने प्रश्नमा उनले भनिन्, ‘अहिले राजनीतिमा क्षमतावान मान्छेको खाँचो छ । ममा भएको क्षमता अरुले देखे । देख्नेहरुले नै ल्याए यो क्षेत्रमा ।’ उनले थपिन्, ‘फिल्म क्षेत्रमा मैले आमूल परिवर्तन गरेँ, अब राजनीतिमा गर्छु ।’

नेपाली राजनीतिमा देखिएको पहिलो फोहोर नै चाकडीप्रथा हो भन्ने रेखाको मत छ । अध्यक्ष कमल थापासँग निटक रहेकी रेखाले चाकडी चाप्लुसीमा आफू नलाग्ने स्पष्ट पारिन् ।

अर्की गायिका ओली पनि उत्तिकै उत्साहित छिन् । रेडियो नेपालको जागिर छाडेर राजनीतिमा सक्रिय भएको तीन महिना पनि नपुग्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भइन् । त्यो पनि तेस्रो धेरै मत ल्याएर । आफ्नो गायन र रेडियोलाई सफलताको कारक मान्ने ओलीले भनिन्, ‘भोट माग्दा म कोमल ओली भनिरहन परेन । सबैले चिन्नु भयो ।’

महाधिवेशनमा उद्घोषणको जिम्मा पाएकी कोमललाई धेरैले प्रतिक्रिया दिँदै भनेका थिए,‘तपार्इंको स्वर त कति मिठो ।’ धन्यवादको सट्टा उनी भन्थिन्,‘स्वर मन परे भोट दिनुहोला ।’

नेपालमा धेरै पार्टी छन् । तर कोमल ओली किन राप्रपामै प्रवेश गरिन् त ? उनको खुल्लमखुल्ला जवाफ छ – 'राष्ट्रिय एकता, राजसंस्था, हिन्दुराष्ट्र र सार्वभौमसत्ताका लागि राजनीतिमा प्रवेश गरेँ ।'

Komal Oli Raprapa Adhibeshan rekha thapa

विशेष