राजनीति

निर्वाचनमा हातहतियार बोक्न रोक

निर्वाचनमा हातहतियार बोक्न रोक
फागुन–१४ । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि व्यक्तिगत रुपमा पेस्तोल, लाठी, खुकुरीलगायत हातहतियार बोक्न रोक लगाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह र रक्षा मन्त्रालयका सचिवसँग बिहीबार छलफलपछि आयोगले गृहमन्त्रालयलाई पत्राचार गर्दे निर्वाचन सुरक्षाका लागि व्यक्तिले हातहतियार लिएर हिँड्न नपाउने गरी नियन्त्रण व्यवस्था मिलाउन निर्देशन दिएको हो । व्यक्तिगत रुपमा हातहतियार लिएर हिँड्दा स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित पार्ने भन्दै आयोगले हातहतियार बोकेर हिँड्न रोक लगाउन गृहलाई निर्देशन दिएको हो । ‘कानुन बमोजिम बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएका छौं, ’ आयोगको निर्णयबारे प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कानुनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका रुपमा रहेका बन्दुक, पेस्तोलजस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालय मातहतमा राख्ने व्यवस्था गर्नुपर्नेछ ।’ आयोगले निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन र विक्रीवितरणमा पूर्ण बन्देज लगाउन विशेष व्यवस्था गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । –नागरिक दैनिकबाट

निर्वाचन निर्वाचन आयोग हातहतियार

विशेष