राजनीति

देउवालाई पौडेलको पत्र, देउवामाथि गुनासै गुनासा

देउवालाई पौडेलको पत्र, देउवामाथि गुनासै गुनासा
फागुन १५ । कांग्रेस सभापति शेरवहादुर देउवाको पार्टी संचालन गर्ने कार्यशैलीप्रति विरोध जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउन लिखित माग गरेको छ । मौखिक रुपमा बारम्बार आग्रह गर्दा पनि बैठक नबोलाएपछि लिखित रुपमा बैठक बोलाउन आग्रह गरिएको पौडेल पक्षीय नेताहरुले बताएका छन् । देउवालाई शनीबार बिहानै बुझाउन बरिष्ठ नेता पौडेलले पत्र तयार पारेका थिए । तर, देउवा राजधानी बाहिरको कार्यक्रममा गएकाले सांझ मात्रै पत्र बुझाईएको हो । पौडेलले हस्ताक्षर गरेको पत्र उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले निवासमै लगेर देउवालाई बुझाएका हुन । आसन्न तीन तहका निर्वाचन र सरकार संचालनका बिषयमा गम्भिर छलफल गर्नुपर्ने कारण जनाउदै बैठक बोलाउन माग गरिएको छ । ‘पार्टी र भातृसंस्थाहरुको संचालनमा सन्तुलित तवरबाट क्रियाशीलता आवश्यकता छ’ पौडेलले देउवालाई बुझाएको पत्रमा उल्लेख छ, ‘पार्टीको प्रमुख सहभागिता भएको सरकारको काम, प्रभावकारिता र त्यसका लागि पार्टीले खेल्नुपर्ने भूमिका र पछिल्ला चरणमा हुन गएका विवादस्पद निर्णयबाट हाम्रा शुभचिन्तकमा चिन्ता छाएको छ ।’ पौडेल पक्षले पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबसेको महिनौं भएको र संस्थागत रुपमा पार्टी संचालनको अभ्यास समेत नभएको भन्दै सभापति देउवाको कार्यशैलीप्रति आलोचना गर्दै आएको छ । पार्टीले लिएका निर्णयहरुमा विधिवत् छलफल हुन नसकीरहेको भन्दै पौडेलले पठाएको पत्रमा उल्लेख छ, ‘पार्टीका साथीहरुको भावना अनुसार केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक अविलम्ब बोलाउन अनुरोध गर्छु ।’ पौडेल पक्षको शनीबार विहान र शुक्रबार बसेको बैठकले लिखित माग गर्दा पनि केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबोलाईए हस्ताक्षर संकलन गर्ने चेतावनी समेत दिएको छ । पौडेल पक्षको बैठक महामन्त्री सशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको थियो । बैठकमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महतलगायत करिव दुई दर्जन नेताको सहभागिता थियो । बैठकमा पार्टीभित्र नीतिगत छलफल भएपछि मात्रै निर्णय लिनुपर्नेमा जोड दिदै सभापति देउवाले पार्टी नेतृत्व सम्हालेको एघार महिना वित्दा पनि पार्टीका विभाग र समितिहरुले पूर्णता नपाएकोमा नेतृत्वको कडा आलोचना गरिएको थियो । तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने गरेका देउवा स्वयमं अनिर्णयको बन्दी बन्न पुगेका पौडेल पक्षीय नेताहरुको धारणा थियो । बैठकमा संविधान संशोधन, प्रहरी महानीरिक्षक नियुुक्ति, राजदूत सिफारिसलगायत सरकारका कामकारवाही र प्रभावकारिताका बिषयमा छलफल भएको थियो । कांग्रेस कोटाबाट राजदूतमा सिफारिस गर्दा विवादस्पद व्यक्तिलाई व्यक्तिगत सम्पर्क र आर्थिक चलखेलका आधारमा रोजिएको भन्दै पौडेल पक्षीय नेताहरुले त्यस्तो निर्णय फिर्ता लिन माग गरेका छन् । पौडेल समूहले आशा लामा, भीम उदास र रमेश प्रसाद कोइरालालाई राजदूतमा सिफारिस गरिएकामा आपत्ति जनाएको हो । पृष्ठभूमि कांग्रेस नभएका र विवादस्पद छवि भएका उनीहरूलाई राजदूत सिफारिस गर्दा पार्टीको साख गिरेको निष्कर्ष पौडेल पक्षको छ । पौडेल पक्षधरको गुनासो केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबसेको महिनौं भयो संस्थागत रुपमा पार्टी संचालनको अभ्यास भएन पार्टीका विभाग र समितिले पूर्णता पाएनन् विवादास्पदलाई व्यक्तिगत सम्पर्क र आर्थिक चलखेलका आधारमा राजदूतमा सिफारिस गरियो कान्तिपुर

Deuba Poudel

विशेष