राजनीति

आफैले पैसा खर्चेर आफ्नै सम्मान

आफैले पैसा खर्चेर आफ्नै सम्मान

फागुन १६ । बाँचिरहनु पर्छ अनेक कुरा देखिन्छ भन्ने उखान नेपाली कांग्रेसेको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका नयाँ अध्यक्ष (टिकेप्रथाबाट) तीर्थबहादुर थापाले देखाएका छन् । स्रोतका अनुशार माघ अन्तिम साता काठमाडौंमा भएको संघको महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको परिक्रमा गरेर थापाले अध्यक्ष पद हत्याएका थिए । महाधिवेशनमा अध्यक्ष लगायत पदका आकांक्षी धेरै भएपछि सर्वसम्मत भएन । धेरैले मनोनयन दर्ता गरिसकेका थिए । अध्यक्ष पदमा त कलाकार सुषमा कार्कीले पनि उम्मेदवारी दर्ता गराईन् । अन्य पदमा पनि उम्मेदवारी पर्यो । तर कांग्रेसको पुरानै रोग टिकेप्रथामा बानी परेका तीर्थबहादुरले देउवाको आशिर्वाद पाएका थिए । देउवाबाट टिका लगाएपछि पार्टीले महाधिवेशनमा हस्तक्षेप गर्यो ।

सर्वसम्मतीका नाममा एउटा बुख्याचा समिति गठन गर्यो । तर १० हजार रुपैयाँ तिरेर निर्वाचन पर्खेका संघका कलाकारहरु हिस्स भए । अरुको लोकतान्त्रिक भावनामा खेलवाड गरेर अध्यक्ष पद हत्याएका तीर्थबहादुरले हालै एउटा अनौठो प्रयास गरेका छन् । स्रोतका अनुशार उनले नेपाल सांस्कृतिक संघ भक्तपुर शाखाका पदाधिकारीहरुलाई फोन गरेर आफ्नो स्वागत र सम्मानमा एक औपचारिक कार्यक्रम गर्न आग्रह गरे ।

[caption id="attachment_58200" align="alignleft" width="323"] सभापति देउवालाइ उनकै तस्बिर दिँदै थापा[/caption]

जिल्लाका पदाधिकारीले टिका लगाएर अध्यक्ष भएकाहरुको के सम्मान गर्नु भन्ने आशय प्रकट गरेपछि उनले कार्यक्रम गर्दा लाग्ने खर्च व्यहोरिदिने आशा देखाए । त्यस्तो आशामा पनि पदाधिकारी नपरेपछि थापा जिल्ल परे । हुन पनि तीर्थबहादुर थापाले सांस्कृति संघलाई कमाइखाने भाँडो नै बनाएको उनी निकट व्यक्तिहरु बताउँछन् । थापा निकट स्रोतले भन्यो, ‘संघको विधानमा दुई कार्यकाल अध्यक्ष भइसकेको व्यक्ति फेरि अध्यक्ष हुन पाउँदैन । तर अहिले थापाको यो तेस्रो कार्यकाल हो । संघमा बसेर कुनै काम गर्नु पनि छैन । छाड्नु पनि छैन । ’

१२ वर्षसम्म संघको नेतृत्व गरेका थापाले अहिलेसम्म कार्यालय खोलेका छैनन् । उनको संघ उनकै झोलाबाट चल्ने गरेको छ । यो प्रकरणमा अर्को अनौठो विषय त के छ भने महाधिवेशनका बेला धेरै जनाले मनोनयन गरे । तर चुनाव भएन । जबर्जस्ती थापालाई अध्यक्ष घोषणा गरियो । अर्कोतर्फ मनोनयनका बेला उम्मेदवारले बुझाएको शुल्क समेत फिर्ता दिइएको छैन । चुनाव गर्ने भनेर मनोनयन शुल्क लिने, चुनाव पनि नगराउने पैसा पनि फिर्ता नदिने भएपछि सांस्कृति संघ त एउटा गैर कानुनी क्रियाकलाप गर्ने संस्था जस्तो बनाइएको छ । –अमृतबजार साप्ताहिकबाट

विशेष