राजनीति

संशोधन नगरेसम्म निर्वाचन हुन नसक्ने बाबुरामको दाबी

संशोधन नगरेसम्म निर्वाचन हुन नसक्ने बाबुरामको दाबी
फागुन १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनैपनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनओटै तहको चुनाव गर्न सकिने उनले बताए । पार्टी प्रशिक्षणका लागि रुकुम पुगेका भट्टराईले सोमबार काठमाडौं जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा उनले जोड दिए । विमानस्थलमा बोल्दै डा। भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत् प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए । शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्रगतिमा हुन नसक्ने उनको भनाइ थियो । उनले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत् अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सन्चालन गर्नुपर्ने खाँचो औंल्याए । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुंगोमा पुग्ने उनले बताए ।

Dr. Baburam Bhattari Nyasakti Nepal Party

विशेष