राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि एमालेको अभियान - अध्यक्ष ओली
फाल्गुन - १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि पार्टीको मेची–महाकाली अभियान सार्थक हुने बताएका छन् ।
पार्टीले राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि यही फागुन २१ देखि चैत ५ गते आयोजना गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका लागि स्वयम्सेवकका लागि निर्देशन दिँदै उनले निर्वाचनमार्फत सङ्क्रमणकालको अन्त्य र स्थिरता, राष्ट्रिय एकता एवम् सामाजिक सद्भावका लागि एमालेका नीति र सोचबारे जनतालाई अवगत अभियान सफल हुने बताएका हुन् ।
पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै उनले भने, 'यो एउटा यस्तो अभियान हो, जो अभूतपूर्व छ, असाधारण छ, छर्लङ्ग छ, एमालेबाहेक अरुले गर्न सक्दैनन् । यस्तो विचार र सङ्गठन अरुसँग हुँदैन र यो राष्ट्रका लागि गरिएको हो ।'
अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्नेछ । अभियानका करिब १० हजार स्वयम्सेवक परिचालन गरेको छ ।
पार्टीका सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गरे ।
अर्का सचिव योगेश भट्टराईले अभियानले संविधान संशोधन प्रस्ताव अनुचित छ र भावनात्मक राष्ट्रिय एकता सिर्जना गर्ने जनाए । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् ।
KP Sharma Oli