राजनीति

उद्योग–व्यवसाय फस्टाउन मुलुकमा शान्ति र सहज वातावरण हुनुपर्छ - उपनेता नेम्बाङ

उद्योग–व्यवसाय फस्टाउन मुलुकमा शान्ति र सहज वातावरण हुनुपर्छ - उपनेता नेम्बाङ
फागुन - १७ । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले कृषि तथा औंद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि विराट एक्स्पोलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । उद्योग सङ्गठन मोरङद्वारा मंगलबार आयोजित विराट एक्स्पोको समापनका अवसरमा उनले उद्योग–व्यवसाय फस्टाउन मुलुकमा शान्ति स्थापना र सहज वातावरण हुनुपर्ने आवश्यकता औँल्याए । संविधान कार्यान्वयनमा समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्बाङले जसरी संविधान जारी गर्ने बेलामा दलहरु एकजुट भएका थिए, त्यसरी नै संविधान कार्यान्वयनका लागि पनि दलहरुबीच एकता आवश्यक रहेको बताए । निर्वाचनको कुनै विकल्प नरहेको भन्दै उनले मधेस र मधेसी दलबीच रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरिए पनि सफलता नमिलेको बताए । संविधानसभाले बनाएको संविधानलाई विभिन्न घटनाक्रममा सबैले स्वीकारेको उल्लेख गर्दै नेम्वाङले निर्धारित समयमा तीनवटै तहको निर्वाचन नभएमा सङ्घीयता, समावेशी, धर्मनिरपेक्ष र गणतन्त्र संस्थागत हुन नसक्ने सम्भावना प्रकट गरे । सोही अवसरमा नेम्वाङले विराट एक्स्पो–२०७३ मा सहभागी भएका महिला घरेलु तथा कृषि क्षेत्रमा र औद्योगिक उत्पादनमा उत्कृष्ट भएका तीन-तीन संस्थालाई पुरस्कृत गरेका थिए । उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइराला, क्षेत्रीय कृषि निर्देशनालयका निमित्त प्रमुख राजेन्द्र उप्रेती र विराट एक्स्पोमा सहभागी व्यापारी नारायण राईले विराट एक्स्पोको सम्बन्धमा प्रकाश पारेका थिए ।

subash nembang

विशेष