राजनीति

अाजदेखि निर्वाचन आचारसंहिता लाग्ने, क–कसलाई लाग्छ आचारसंहिता ?

अाजदेखि निर्वाचन आचारसंहिता लाग्ने, क–कसलाई लाग्छ आचारसंहिता ?

फागुन १७ । निर्वाचन आयोगले अाजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगको मंगलबार बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको छ ।

आयोगकाअनुसार नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकायरतह, स्थानीय निकायरतहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृसंगठन, सरकारी तथा निजी क्षेत्रका सन्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आचारसंहिता लाग्नेछ ।

उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति अर्थात् आगामी वैशाख १६ देखि आचारसंहिता लागू हुनेछ । यस्तै, बैठकमा गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल गरिएको छ ।

गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सुरक्षा योजना प्रस्तुत् गर्दै आयोगले समय–समयमा दिएको निर्देशनलाई ध्यान दिइ प्रस्तुत् सुरक्षा योजना तयार गरिएको र त्यसमा आयोगको पृष्ठपोषणपछि केन्द्र, क्षेत्र, जिल्लामासमेत सबै सुरक्षा निकायको भूमिका स्पस्ट गरी समन्वयात्मकरूपमा जिम्मेवारी पूरा गर्ने बताएका थिए ।

उक्त छलफलमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत् सुरक्षा संयन्त्रलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्ने, जिल्लास्तरमा प्रहरी प्रशासनले निर्वाचन आचारसंहिता पालना गराउन अविलम्ब निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने भएकाले यस विषयलाईसमेत ध्यान दिइ सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए ।

सुरक्षा योजना सम्बन्धमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीलेसमेत आफ्नो सुझाव राखेका थिए ।

कार्यक्रममा चारओटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

Nirbachan ayog

विशेष