देश राजनीति

जाजरकोटमा सुरु भयो चुनावी रौनक

जाजरकोटमा सुरु भयो चुनावी रौनक
फागुन - १६ । चिसो मौसम बदलिएर न्यानो मौसमको आगमनसंगै चुनावी माहोलको राजनैतिक सरगर्मी बढ्न थालेको छ । यतीबेला जाजरकाेटका चियापसल र पिपलचौतारीहरुमा राजनैतिक राैनकले राम्रै स्थान ओगटेको छ ।
१९ वर्षपछि सरकारले स्थानिय तहको निर्वाचन मिति घोषणा गरेसँगै सर्वसाधारणमा खुशी छाएको छ, भने राजनैतिक दल चुनावी रणनीति बनाउन र कार्यकर्ता परिचालनमा ब्यस्त हुन थालेका छन् । जिल्लामा यतिवेला जताततै चुनावकै चर्चा हुने गरेको छ । स्थानिय तहमा कुन पार्टीमा कसले टिकट पाउला ? कसले चुनाव जित्ला ? सदरमुकामका चियापसलदेखि चोक, कार्यालय र सार्वजनिक भेलाहरु र गाँउ-गाँउमा यस्तै बहसले स्थान पाउन थालेकाे छ । लामो समय स्थानिय तहको निर्वाचन नहुँदा कर्मचारीको भरमा स्थानिय निकाय चलिरहेको छ । जनप्रतिनिधी नहुँदा विकास निर्माणले गति लिन नसकी अनियमितता बढ्ने जवाफदेहीता नहुने, नागरिकका कामकाजमा वेवास्ता हुने, कर्मचारी सदरमुकाम केन्द्रित हुने अादि कारणले अाजित बनेका नागरिकले लामो समयदेखि निर्वाचनको माग गदै आएका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनपछि फर्केर गाँउ नगएका राजनैतिक दलहरु स्थानिय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत पार्न गाँउ पुगेका छन् । आफ्ना कार्यकर्तालाई चुनावको लागि तयारी अवस्थामा राख्न र जनतासँगको सम्बन्ध कायमै राख्न भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुले गाँउ जागरण अभियानको नाममा चुनावी तयारीलाई तिव्र पारेका छन्। भेरी ज्ञानाेदय क्याम्पसका क्याम्पस प्रमुख माेहन विक्रम शाहले संविधान कार्यान्वयनका लागि एक वर्षभित्रैमा तीन वटै तहकाे निर्वाचन गरिसक्नु पर्ने बाध्यात्मक अवस्था रहेकाले अहिलेदखि नै स्थानीय नेताहरूले टिकटका लागि लविङ्ग गर्न थालेकाे बताए । ‘चुनावको मिति घोषणाले जनतामा निकै उत्साह छाएको छ,’ उनले भने,  ‘संविधान कार्यान्वयन गर्नका लागि पनि एक बर्ष भित्रै तीन वटै तहको निर्वाचन गरिसक्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ । अहिलेदेखि नै स्थानिय नेताहरुले टिकटका लागि लविङ्ग गर्न थालेका छन् ।’ चुनाव घोषणा सँगै चियापसलदेखि बजार, चोक, गाँउ गाँउमा चुनाव लड्ने स्थानिय नेताहरुको चर्चासमेत हुन थालेको क्याम्पस प्रमुख शाह बताउँछन् । पार्टीको केन्द्रीय र जिल्ला स्तरका नेताहरु समेत गाँउ पुग्न थालेका छन् । उनीहरु आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि जनता फकाउन आमसभा र अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने गरेका छन् । जनता तताउने गरी एक महिने गाँउ जागरण अभियान हालै सकेको काँग्रेसले पुनः चुनाव केन्द्रीत कार्यकर्ता परिचालन गरिएको नेपाली काँग्रेसका जिल्ला सभापति दीपकजंग शाहले बताए । 'हाम्रो अभियान कार्याकर्तालाई निकट भविश्यमै हुने तीन ओटै तहको चुनावको लागी तयारी अवस्थामा राख्नु हो,' उनले भने । त्यसैगरी, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गणेश सिंहले कार्यकर्तालाई चुनावको तयारीमा जुटन निर्देशन दिइएको बताए । उनले भने–'हामी चुनावमा होमिई सकेका छन् ।' एमालेका जिल्ला अध्यक्ष करवीर शाहीले चुनावी माहोल खडा गर्न गाँउ अभियान चलाइएको बताए । यतिवेला गाँउ-गाँउमा विभिन्न पार्टीका आमसभा हुन थालेका छन् । दलहरुको गतिविधी हेर्दा जनताहरुले चुनाव आउन थालेको महसुस गरेका छन् । १९ वर्ष पछि हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु जनताको मत आफनो पक्षमा पार्न कस्सिएका छन् । कतिपय पार्टीका राष्ट्रब्यापी कार्यक्रम संचालन भइरहेका छन् भने, कतिपयले जिल्लास्तरमै कार्यक्रम तय गरेका छन् । अहिले राज्य पुर्नसरंचना आयोगले जाजरकोटका लागि तीन नगरपालिका र चार गाँउपालिका हुने भनी सिफारिस गरेको छ । जिल्लामा स्थानीय तहमा प्रमुख तीन दल काँग्रेस एमाले र नेकपा माओवादी केन्द्रकै बीचमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
दीपबहादुर घर्ती / जाजरकोट

विशेष