राजनीति

मन्त्रीलाई थर्काए निर्वाचन आयुक्त यादवले, भन्छन् उद्घाटन ठूलो कि चुनाव ?

मन्त्रीलाई थर्काए निर्वाचन आयुक्त यादवले, भन्छन् उद्घाटन ठूलो कि चुनाव ?

फागुन १९ । हाम्रा कार्यकर्ता हुन्नन, हामी किन चुनाव प्रचार प्रसारमा जान नपाउने ?’ वाणिज्यमन्त्री रोमी गौचन थकालीको आक्रोश भुँइमा नखस्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले कडा शैलीमा जवाफ फर्काए, ‘४३ जना मन्त्री हुनुहुन्छ ।

तपाईहरु ७ सय १९ तहमा जाने भए आफै चुनाव गराउनुहो, निर्वाचन आयोग किन चाहियो ?’ निर्वाचन आचारसंहिता पालनामा सरकारको प्रतिवद्धता खोज्न बुधवार आयोगले बोलाएको छलफलमा मन्त्री थकाली मात्र होइनन, अधिकांश मन्त्रीलाई प्रमुख आयुक्त यादवले कडै जवाफ फर्काए ।

आचारसंहिता कडा भएको भन्दै असन्तुष्टि पोख्न पुगेका मन्त्रीहरुले उल्टै प्रमुख आयुक्त यादवको ‘हप्की’ खेप्नु’ परेको थियो । आचारसंहितामा कडाई गर्ने संकेत गर्दै प्रमुख आयुक्त यादवले भने,‘शक्ति केन्द्रको दुरुपयोगलाई कडाई साथ कारबाही गर्छौ ।’ समानूपातिकमा एक सिट मात्र जितेर महिला मन्त्री बनेका कुमार खडकाले आफ्नो पार्टीको निर्वाचन क्षेत्र देशभरी नै भएको तर्क सहित चुनाव प्रचाार प्रसारमा होमिने संकेत गरेपछि प्रमुख आयुक्त यादव झन आक्रोशित भए ।

‘तपाईहरु मन्त्रीहरु किन जाने पार्टीका नेताहरु प्रचार प्रसारमा जानुहुन्छ ।’ त्यसपछि मन्त्री खडकाले प्रश्न गर्न खोज्दा प्रमुख आयुक्त यादव झोक्किए । ‘मन्त्रीज्यू म संग होइन, प्रधानमन्त्रीसँग प्रश्न गर्नुहोस । यो आदेश हो, निर्देशन हो ।’ स्वास्थ्यमन्त्री गगन थापाले बिहीबार नै पार्टीको कार्यक्रम तय भएको भन्दै जान पाउने कि नपाउने भनी प्रश्न गरे । प्रमुख आयुक्त यादवको जवाफ थियो,‘जनताको ट्याक्स खाएर मन्त्री बनेकाहरु कुनै पनि पार्टी विशेषको कार्यक्रममा जान निषेध गर्छु ।’

मन्त्री पदको सपथ खाएको व्यक्ति खास उम्मेदवारको पक्षमा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न नपाईने यादवले बताए। ‘सदरमुकाममा जानुहोस्, तर गाउँ नपस्नुहोला,’ यादवले मन्त्रीहरुलाई सचेत गराउंदै भने,‘सिडिओहरुलाई भनेर कुनै पनि मन्त्रीको स्वागतमा समय बर्बाद नगर्न म पत्राचार गर्छु ।’ पर्यटनमन्त्री जिवन बहादुर शाहीले संसदीय निर्वाचनमा हेलिकप्टर प्रयोग गर्न पाइएको तर्क गर्दै स्थानीय निर्वाचनमा आयोगले हेलिकप्टर प्रयोगमा रोक लगाएकोमा असन्तुष्टि पोखे ।

तर प्रमुख आयुक्त यादवले निर्वाचनका सामग्री ओसार पसार बाहेक अन्य काममा हेलिकप्टर प्रयोगमा पूर्ण रोक लगाइने बताए । ‘को कुन जहाज र हेलिकप्टरमा जांदैछ भन्ने लिष्ट निर्वाचन आयोगमा आउने व्यवस्था गर्दैछौ । आयोगको निर्देशन विपरित कोही गयो भने कारवाही हुन्छ ।’ उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले आफ्नो घर नै काभ्रे भएकाले आफु घर जान पाउने कि नपाउने भनी प्रश्न गरे ।

जवाफमा प्रमुख आयुक्त यादवले भने,‘मन्त्री भएर होइन, सामान्य भएर जानुहोला ।’ शान्तिमन्त्री सितादेवी यादवले संविधान संशोधन नभई मधेसमा चुनाव हुन नसक्ने भन्दै राजनीतिक वातावरण नबनी चुनाव कसरी हुन्छ भनी प्रश्न गरे । मन्त्री यादवको प्रश्नको पनि प्रमुख आयुक्त यादवले कडै जवाफ फर्काए ।

‘राजनीतिक वातावरण बनाउने काम तपाईहरुकै हो नि, बनाउनुहोस न ।’ अधिकांस मन्त्रीहरुले पहिले नै तय भइसकेका उदघाटनका कार्यक्रम र जिल्ला भ्रमणमा जान आयोगले रोक लगाएकोमा असन्तुष्टि पोख्दै त्यस्तो भए विकास निर्माण रोकिने बताएका थिए । जवाफमा यादवले भने,‘ चुनाव गराएर संविधान सर्वोपरि ठूलो कि उदघाटन ? २ महिनामा कति विकास हुन्छ हामीलाई थाहा छैन ? ’ निर्वाचन आचारसंहिता पालनामा आयोग कडै रुपमा प्रस्तुत हुने संकेत पाएपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आचारसंहिता पालनामा सरकार प्रतिवद्ध रहेको बताए । निर्वाचनलाई चाहिने बजेट आयोगले दिने पनि महराले बताए ।

अर्का उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २१ हजार बुथमा स्थानीय तह सुरक्षा योजना तयार गरिएको र त्यसलाई लागु गरिने बताए । यादवले नयाँ पदपूर्तिको काम सम्पूर्ण रुपमा रोक्न मन्त्रीहरुलाई निर्देशन दिए । ‘अन्र्तवार्ता लिइसक्नु भएको छ भने त्यो पनि रोक्नुहोस् । नेपालमा पावरको निकै नै मिसयुज हुन्छ ।’ यस्तै आयोगले विभिन्न मन्त्रालयका सचिवहरुसँगको छलफलमा आचारसंहिता पालनाका लागि केन्द्रदेखि जिल्लासम्मको व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

नयाँ पत्रिका

Ayodhi prasad yadav Nirbacha Ayukta

विशेष