राजनीति

सुखानीका सहिद सम्झँदै एमालेको मेची महाकाली अभियान प्रारम्भ

सुखानीका सहिद सम्झँदै एमालेको मेची महाकाली अभियान प्रारम्भ
फागुन–२१ । नेकपा (एमाले) ले ‘सुखानीका सहिद दिवस’ को दिन पारेर शनिबारदेखि मेची महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दैछ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेता झापा पुगिसकेका छन् । स्थानीय साल्बारी, सुखानी, गरामनी र ज्यामिरगढीमा अलग अलग कार्यक्रम गर्ने र नेताहरु पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको सांसद रवीन कोइरालाले जानकारी दिए । ‘झापा विद्रोह’ मा संलग्न अध्यक्ष अध्यक्ष ओली र अन्य नेताहरु सुखानी उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि दिएर अभियानको औपचारिक शुभारम्भ गरिएको छ । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरुवाका नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो । सहादत पाउनेमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए । गत वर्ष सरकारले उनीहरुलाई सहिद घोषणा गरेको थियो । लोकतान्त्रिक २०६२–०६३ को आन्दोलनको सफलतापछि सरकारले एमालेका पूर्वनेता तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संयोजकत्वमा गठित सहिदको मापदण्ड निर्धारणसम्बन्धी सुझाव समितिले ती पाँच योद्धालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो । झापाको काकडभिट्टाबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । शनिबारनै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन् । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ । प्रकाश सिलवाल/रासस

एमाले मेची– महाकाली अभियान सुखानी

विशेष