बैतडीमा एक लाख २९ हजार मतदाता
फागुन–२१ । बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् ।
तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए ।
आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ ।
यसैबीच, राज्य पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ ।
आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनःसंरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो । रासस
निर्वाचन
बैतडी
मतदाता