राजनीति

मोर्चा निर्वाचनमा सहभागी हुने प्रमको विश्वास

मोर्चा निर्वाचनमा सहभागी हुने प्रमको विश्वास
फागुन–२२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आर्इतबार पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । स्थानीय तह पुनःसंरचना आयोगले आर्इतबार प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने जानकारी उनले दिए । प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको बताए । पत्रकारको जिज्ञासमा उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने छ भने । मधेसको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले भने, “राष्ट्रको भविष्य र राजनीतिक स्थिरताका लागि मधेस–पहाड र हिमाललाई मिलाएर मधेसी र थारुको मागलाई सम्बोधन गर्न सरकार दृढ छ । ” संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरुबीच समझदारी गराएर प्रस्ताव पारित गराउने आफ्नो सोचाइ रहेको जानकारी उनले दिए । प्रधानमन्त्रीले नेकपा (एमाले)को मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै द्वन्द्वको अवस्था सिर्जना हुन नदिनका लागि मोर्चालाई वातावरण सहजीकरणतर्फ अग्रसर हुन सुझाव दिए । “कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ”, उनले भने । रासस

निर्वाचन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड मोर्चा सहभागी

विशेष