राजनीति

सरकारलार्इ गाली गर्दा शब्द सावधानीपूर्वक छान्न सुझाव

सरकारलार्इ गाली गर्दा शब्द सावधानीपूर्वक छान्न सुझाव
फागुन–२२ । सरकार र राजनीतिक दललाई गाली गर्न प्रयोग गरिएका शब्दले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुग्नसक्नेतर्फ सचेत रहनुपर्ने आवश्यकता औँल्याइएको छ । अस्मिता महिला प्रकाशन गृहले नेपाली मिडियामा लैङ्गिक हिंसासम्बन्धी समाचारबारे गरेको अनुगमन पछि तयार प्रतिवेदनमाथि आर्इतबार भएको छलफलमा सहभागी वक्ताले सरकारलाई अन्धो, लङ्गडो र बहिरो भनेर गाली गर्दा त्यसबाट अपाङ्गता भएका व्यक्तिमा पर्ने चोटलाई हेक्का राख्न सुझाव दिए । सञ्चारमाध्यममा आएका समाचारले महिला र बालबालिकालाई थप पीडा हुने वातावरण नबनोस् भन्नेतर्फ पत्रकार सजग हुन आवश्यक रहेको उनीहरुले औँल्याए। अपाङ्गताको कमजोरीलाई देखाएर समाजमा उनीहरुप्रति हुने विभेद अन्त्य गर्न सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव पनि उनीहरुले दिए। होटल तथा रेस्टुराँमा काम गर्ने महिलाको तस्बिरसहितको समाचार छापिँदा समाजमा बस्न नदिने खालको परिस्थिति सिर्जना भएको गुनासो गर्दै उनीहरुले मुलुकका आम सञ्चारमाध्यमले लैङ्गिक हिंसासम्बन्धी समाचारलाई अझै पनि यथोचित प्राथमिकता दिनमा कञ्जुस्याइँ गरिरहेको बताए । आयोजक संस्था अस्मिता गृहका अध्यक्ष इन्दु तुलाधार, प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा बिन्दु तुलाधरलगायत लैङ्गिक हिंसा अन्त्यका क्षेत्रमा कार्यरत संस्थाका पदाधिकारीले महिला र पुरुषबीच समान हकअधिकारको विषयमा उठाइएका मुद्दालाई आम सञ्चारमाध्यमबाट अझै पनि प्राथमिकताका साथ सम्प्रेषण हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए। उक्त गृहले सन् २०१६ को जुन १ देखि ३० तारिखसम्म नेपाली मिडियामा आएका लैङ्गिक हिंसासम्बन्धी समाचारको अनुगमन गरेको थियो । सो अध्ययनमा चार अङ्ग्रेजी, १८ नेपाली राष्ट्रिय दैनिक पत्रिका, छ रेडियो र चार टेलिभिजन च्यानलका प्राइम टाइम समाचार बुलेटिनमा आएका समाचारमा केन्द्रित रहेको जनाइएको छ। अनुगमनमा लैङ्गिक हिंसासम्बन्धी सामग्रीमध्ये ९.१३ समाचार पहिलो पृष्ठमा आएको तथा रेडियो र टेलिभिजनमा अन्यन्तै न्यूनरुपमा हेडलाइन बन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस

गाली राजनीतिक दल शब्द सरकार

विशेष