राजनीति

पुनसंरचना नटुङ्गिँदा मतदान केन्द्र तोकिएन

पुनसंरचना नटुङ्गिँदा मतदान केन्द्र तोकिएन
फागुन–२२ । स्थानीय निकायको पुनसंरचनाकाे अन्तिम टुङ्गो नलाग्दा स्थानीय निकाय निर्वाचनको मतदान केन्द्र तोक्न अन्योल भएको छ । जिल्लामा स्थानीय निकाय पुनर्संरचनाका विषयमा भएको विवादको अन्तिम किनारा नलागेका कारण मतदान केन्द्र कायम गर्ने समस्या भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताए । 'स्थानीय निकायको पुनर्संरचनाको विषयमा स्पष्ट रुपमा परिपत्र आएको छैन, पत्र नआएका कारण मतदान केन्द्र कायम गर्न समस्या परेको हो,' अधिकारीले भने । एक नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा जिल्लामा स्थानीय निकाय पुनर्संरचना अनुसार एक विदुर नगरपालिका र ११ वटा गाउँपालिका रहने छन् । तर आयोगमा पठाइएको विवरणमा हेरफेर भएको जनाउँदै विवाद भएका कारण केन्द्रबाट लिखित परिपत्र आउनेबित्तिकै मतदान केन्द्र कायम गरिने छ । आगामी वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचनका लागि जिल्लामा एक लाख ९१ हजार छ सय ५५ मतदाता छन् । दोस्रो संविधानसभाको निर्वाचनमा भने करिब एक लाख ५० हजार मतदाता तथा एक सय स्थानमा मतदान केन्द्र कायम गरिएको थियो । रासस  

निर्वाचन पुनसंरचना स्थानीय निकाय

विशेष