राजनीति

आयोगको मन्त्रीहरुलाई निर्देशन– ‘निजी सवारीसाधनको प्रयोग गर्दा पूर्वस्वीकृति लिनु’

आयोगको मन्त्रीहरुलाई निर्देशन– ‘निजी सवारीसाधनको प्रयोग गर्दा पूर्वस्वीकृति लिनु’
फागुन–२२ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रीहरुले पार्टी तथा राजनीतिक कार्यक्रममा सहभागी हुँदा प्रयोग गर्ने निजी हेलिकप्टर र सवारीसाधनका बारेमा आयोगको पूर्वस्वीकृति लिन निर्देशन दिएको छ । त्यसरी जाँदा पनि निजी जिल्लाको सदरमुकाम मात्रै जान सकिने आयोगको निर्देशन छ । ‘‘मिति २०७३-११-२२ गते बसेको आयोगको बैठकले २०७४ साल बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि लागू गरिएको निर्वाचन आचार संहिता सम्बन्धमा थप स्पष्ट गरेको छ,’’ आयोगको विज्ञप्तिमा छ,‘‘निर्णयअनुसार सम्माननीय प्रधानमन्त्रीज्यूले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्विकृती लिएर मात्र प्रयोग गर्न तथा निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने तथा माननीय मन्त्रीज्यूहरूले सरकारी कामको सिलसिलामा सरकारी सवारी साधन तथा राजनीतिक कामका सिलसिलामा निजी सवारी साधन प्रयोग गर्दा आयोगको पूर्व स्वीकृती लिएर मात्र जिल्लाको सदरमुकामसम्म प्रयोग गर्न पाउने तथा निर्वाचन प्रचार–प्रसारमा माननीय मन्त्रीज्यूहरू संलग्न नहुने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।’’ त्यसैगरी आयोगले सांसदहरुलार्इ पनि कुनै दल वा उमेदवारको प्रचार प्रसारका लागि जाँदा सरकारी सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको छ । साथै विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगराउन नेपाल सरकारलाई समेत निर्देशन दिएको छ ।

निजी सवारीसाधन निर्वाचन आयोग पूर्वस्वीकृति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

विशेष