बाबुरामले यस्तै निषेधको राजनीति गर्ने हो भने हामी पार्टी फुटाउँछौं (भिडियो अन्तर्वार्ता)

फागुन २३ । नयाँ शक्तिमा फरक मत राख्ने समूहका अगुवा निर्मल भट्टराईले पार्टीमा निषेधको राजनीति जारी रहे पार्टी टुक्रिन सक्ने चेतावनी दिएका छन् । स्थानीय तहको निर्वाचन स्थगतको माग गर्दै पार्टी संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको संयुक्त विज्ञप्ति जारी गरेपछि निर्मल भट्टराईसमूहले अर्को विज्ञप्ति जारी गर्दै टक्कर दिएको थियो ।
नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य भट्टराई पक्षधर नौ जना केन्द्रीय नेताहरुले संयोजक भट्टराईले निर्वाचन बिथोल्ने आशयले विज्ञप्ति जारी गरेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए । सो विज्ञप्ति पछि नयाँ शक्तिले फरक विचार राख्नेहरुविरुद्ध आन्तरिक कारबाही पनि थालेको छ । कारबाहीका सम्बन्धमा परिषद् सदस्य भट्टराईले भने, ‘फरक विचार राख्ने साथीहरुलाई निषेध गर्ने हो भने, दमन गर्ने हो भने हामी आफ्नै विचार समूहको नेतृत्व गर्न सक्छौं ।’
पार्टीको आधारभूत प्रस्तावना, केन्द्रीय समितिको बैठकविपरीत संयोजक भट्टराईले उपेन्द्र यादवसँग मिलेर विज्ञप्ति निकालेका कारण निर्मल समूहले पार्टीमा फरक मत पनि दर्ता गराएको छ ।
पार्टी संयोजक बाबुराम भट्टराईमा मधेसमा राजनीति गर्ने तराई केन्द्रीत चार पाच फुच्चे पार्टी नभई हुँदैन भन्ने गलत छाप परेको निर्मलले बताए । उनले भने, ‘सायद यहि भएर होला संघीय समाजवादीसँग एकताको कुरा छ । तर एकता हुँदैन ।’
संघीय समाजवादीसँग पार्टी एकता हुन नसक्ने कारणबारे स्पष्ट पार्दै उनले भने, ‘बाबुराम भट्टराईको नेतृत्व र संघीय समाजवादी तराईको मात्रै नभएर राष्ट्रकै पार्टी बनेर अगाडि आयो भने हुन्छ एकता । नत्र हुँदैन । ’
naya shakti naya shakti might break Nirmal Bhattarai