राजनीति

एमाले यो देशको राष्ट्रिय पार्टी हो, शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउँछ – कानुन नायक

एमाले यो देशको राष्ट्रिय पार्टी हो, शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउँछ – कानुन नायक
फागुन – २३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नदेखिएकोले तत्काललाई स्थगन् गरि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि प्रदेश र केन्द्रिय संसदको निर्वाचन अघि पारित गराउने गृहकार्यमा सरकार लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले सकेसम्म सरकारले निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउन प्रयास गर्ने नभए स्थानीय तहको निर्वाचनपछि नै पारित गराउने गरिको विकल्पमा समेत सरकारले गृहकार्य गरिरहेको जनाए । उनले भने, ‘संशोधन प्रस्ताव अहिले सहमति नगरीकन पारित हुने अवस्था छैन, त्यसैले पारित गराउनको लागि सरकारले अहिले गृहकार्य गरिरहेको छ, यदि त्यसो हुन सकेन भने प्रदेश र केन्द्रको चुनावभन्दा अघि नै संशोधन प्रस्ताव पारित गराउन सकिन्छ ।’ साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान कार्यान्वयनका लागि पनि चुनाव प्राथमिकतामा भएको स्पष्ट पारे। उनले भने, ‘यो सरकार गठन भएदेखि नै हाम्रो ध्यान भनेको समयमै तीन वटै निकायको चुनाव गराउनुपर्छ भन्नेतिर नै छ, यसको लागि वातावरण बनाउनुपर्नेमा हामीले जोड दिँदै आएका छौं, यो कुरा कसैबाटपनि छिपेको छैन, तर चुनावको वातावरणको लागि राष्ट्रिय राजनीतिक सहमति खोज्ने हाम्रो अहिलेपनि प्रयत्न हो, त्यसैको लागि हामीले संशोधन प्रस्ताव अघि सारेका हौं ।’ मन्त्री नायकले एमालेले मधेशमा शान्तिपूर्ण आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न पाउने बताउँदै भने,‘एमाले यो देशको राष्ट्रिय पार्टी हो, शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउँछ, एमालेको कार्यक्रमलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको हो, हामी प्रतिबद्ध छौं।’ उनले एमालेको अभियानलाई मधेशी मोर्चाका कार्यकताहरुले विथोल्ने कुरा बाहिर आएकोप्रति टिप्पणी गर्दै भने,‘यो गलत हो, भोलि ईतिहासको कठघरामा उभिनुपर्छ।’ त्यस्तै उनले एमालेको अभियानबारे मोर्चाको केन्द्रको आधिकारिक धारणा के हो भनेर आउनुपर्ने समेत माग गरे ।

अजयशंकर नायक संशोधन प्रस्ताव

विशेष