राजनीति

राजनीतिबाट टाढै थिए सप्तरी घटनाका मृतकहरु

राजनीतिबाट टाढै थिए सप्तरी घटनाका मृतकहरु

फागुन २५ । सप्तरीको मलेठ–बसबिट्टीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सोमबार भएको झडपमा गोली लागेर मृत्यु भएका तीनैजनाको परिवार शोकाकुल छ ।

अचानक आएको विपत्ले गाउँ स्तब्ध छ। मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ। परम्पराअनुसार मृतकको अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन। प्रहरीले गोली चलाउन थालेपछि भाग्ने क्रममा पछाडिबाट टाउकोमा गोली लागेर घटनास्थलमै ज्यान गुमाएका मलेठ–२ का सञ्जन मेहता स्थानीय पसले थिए ।

उनी कुनै पनि दलमा सक्रिय थिएनन्। मलेठ–४ का ५० वर्षीय पिताम्बर मण्डल पनि राजनीतिबाट टाढा थिए। उनी घरमा रंगरोगन गर्ने मजदुर थिए। प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घर नजिकै रहेको सडकमा निस्केका थिए। अचानक प्रहरीको गोली पेटमा लाग्यो र उनी ढले। सप्तरीको प्रसवनी स्थायी घर भई राजविराजमा बस्दैआएका आनन्द साह स्वास्थ्यकर्मी थिए।

डीमन स्वास्थ्य चौकी प्रमुख सिनियर अहेव साह सोमबार पोलियो खोप पुर्‍याएर राजविराज फर्किने क्रममै थिए, मोटरसाइकलमै रहेको अवस्थामा उनको छातीमा गोली लागेको थियो। पिताम्बर र आनन्दको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा सोमबार राति मृत्यु भएको थियो। सरकारलाई मोर्चाको अल्टिमेटम संघीय गठबन्धन र मधेसी मोर्चाले सात दिनभित्र संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन स्थगित नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन्।

राजविराज घटनालगत्तै सोमबार बसेको गठबन्धन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मंगलबार संसद् सचिवालयमा त्यससम्बन्धी पत्र दर्ता गर्ने निर्णय गरेको थियो। तर, मंगलबार पुनः बसेको बैठकले भने सातदिने अल्टिमेटम दिने निर्णय गरेको हो। बैठकले सप्तरी गोलीकाण्डका मृतकलाई तत्काल सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गरेको छ।

एमाले अभियान अब हेटौँडाबाट

एमालेले राजविराजमा घेरा हालेर पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ। ‘कार्यक्रमस्थलनजिक बम राखियो। कार्यक्रम चलिरहँदा बम प्रहार भयो। तीनतिरबाट घेराउ गरियो। गाउँगाउँबाट मानिसलाई लाठी र भाला लिएर आउन निर्देशन दिँदै सुरक्षा घेरा तोड्न खोजियो,’ मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले भने, ‘नेतृत्वपंक्तिलाई नै समाप्त पार्ने दुरासय थियो भन्ने कुरा प्रस्ट भएको छ।’

एमालेले सप्तरी घटनामा भएको तीनजनाको मृत्युको जिम्मेवारी गृहमन्त्री र मधेसी मोर्चाले लिनुपर्ने बताएको छ। अबको कार्यक्रम २७ फागुनदेखि हेटौँडाबाट सुचारु हुने पार्टीले जनाएको छ।

नयाँ पत्रिका

सप्तरी घटना

विशेष