राजनीति

निर्वाचन सारिए अमान्य हुने एमालेको चेतावनी

निर्वाचन सारिए अमान्य हुने एमालेको चेतावनी

फागुन २६ । प्रमुख प्रतिपक्षी एमालेले सप्तरीको राजविराज घटनालाई आधार मानेर स्थानीय तहको निर्वाचन मिति नसार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । निर्वाचन सारिए आफूहरूलाई अमान्य हुने पनि एमालेको चेतावनी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोलीले सप्तरी घटनासहित निर्वाचनको विषयमा छलफल गरेको छ । बालुवाटारमा भएको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, यताउति गरिए स्वीकार्य छैन ।

समयमै सम्पन्न गराउने कुरामा मात्रै हाम्रो समर्थन रहन्छ।’ एमाले नेताहरूसँगको छलफलअघि प्रधानमन्त्री प्रचण्डलाई मधेसी मोर्चाका नेताहरूले सात दिनभित्र निर्वाचन मिति स्थगित गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए।

प्रदेश नं. २ मा फेरि अभियान एमालेले प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा पुनः अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लास्तरीय सभाहरू आयोजना गर्ने निर्णय गरेको हो । ‘प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नम्बर २ का जिल्लामा जिल्लास्तरीय सभा पनि आयोजना गरिनेछन् ।’

कार्यक्रमको कार्यतालिका प्रदेशको पार्टी नेतृत्वसँगको परामर्शमा तय गरिने एमालेले जनाएको छ । हेटौँडाबाट भने शुक्रबारदेखि अभियान सञ्चालन हुनेछ ।

नयाँ पत्रिका

UML

विशेष