भिडियो

साझा पार्टीका आश लाग्दा तेज रफ्तारका अब्दुस (भिडियो अन्तर्वार्ता)

साझा पार्टीका आश लाग्दा तेज रफ्तारका अब्दुस (भिडियो अन्तर्वार्ता)

फागुन २७ । ५१ वर्षको उमेरमा २२ वर्ष बिबिसी नेपाली सेवाबाट राजीनामा दिएर पत्रकार रवीन्द्र मिश्र राजनीतिमा आउने निर्णय गर्दा ठीक यस्तै खाले निर्णय अरुले पनि लिए । उमेर कम तर प्रभावकारी काम गरेर धेरै मानिसहरुसम्म पुग्न सफल एक २३ वर्षे ठीटो अब्दुस मियाँमाथि मिश्रको नजर केही समयअघि देखि परिरहेको थियो ।

अब्दुस युथ इनिसियटिभ नामक युवाहरुको एक ठूलो सञ्जाल सञ्चालन गर्थे । युवाहरुलाई भेला पार्थे । नेतृत्व विकास गर्न सिकाउँथे । युथ इनिसियटिको सञ्जाल देशभर छ । अब्दुसले कलिलो उमेरमै त्यति धेरै युवाहरुलाई एकत्रित गरेर अभियान सञ्चालन गरिरहेको देखेपछि रवीन्द्र मिश्रको नजर पनि उनमा अडिएको थियो ।

२३ वर्षको उमेरमै राजनीतिमा सक्रिय हुने निर्णय कमैले लिन्छन् । तर उनले लिए । उमेर २३ भए पनि उनको काम त्यति कच्चा छैन । मिश्रले टिप्पणी गरेका थिए, ‘अब्दुस उमेर भन्दा अगाडि छन् ।’

साझा पार्टीका प्रारम्भिक चरणका सबैभन्दा कान्छा सदस्य अब्दुस पनि पार्टीको नीति शिद्धान्त निर्माणमा क्रियाशील हुँदैछन् ।

रानीतिमा लाग्न उमेरको मापदण्ड छैन।

अब्दुस नेपाली मुस्लिम हुन् । उनी अल्पसंख्यक समुदायबाट पनि प्रतिनिधित्व गर्न सक्छन् । तर उनलाई यसखाले आरक्षण आवश्यक छैन । साझा पार्टीलाई साच्चैको साझा बनाउन अब्दुस जस्ता युवाको खाँचो पनि पर्छ । उमेर र राजनीतिबारे अब्दुस स्पष्ट छन् । भन्छन्, ‘राजनीतिमा उमेरको कुनै मापदण्ड हुन्छ जस्तो लाग्दैन ।’


फोहोरी हैन बिरामी राजनीति

औसत युवाहरुले राजनीतिलाई ‘डर्टी गेम’ नै भन्छन् । वास्तवमै नेपालको राजनीति फोहोर नै छ । अब्दुस भन्छन्, ‘फोहोर मात्रै भन्ने अनि सफा चाहीँ नगर्ने हो भने फोहोर भन्न पनि मिल्दैन ।’ राजनीतिलाई फोहोरी खेल भन्दा पनि ‘बिरामी राजनीति’ भन्न उनी रुचाउँछन् । उनी भन्छन्, ‘राजनीति बिरामी छ । हामी सबै मिलेर उपचार गरेर ठीक पार्नु पर्छ ।’


साझा पार्टी नै किन ?

नेपालमा राजनीतिक पार्टी अहिले धेरै छन् । संसदमा दर्ता भएका पार्टीहरु पनि धेरै छन् । अखिर उनले साझा पार्टी नै किन चुने भन्ने नेपाल आजको प्रश्नमा उनले बाटो त धेरै छन् तर कुन बाटो जाने भन्ने कुरा आफूले सोच विचार गरेर जानुपर्ने भन्दै प्रश्नको बिट मारे । साझा पार्टीमा आएका सदस्य र उनीहरुको सोचमा स्वच्छता भएकै कारण उनलाई साझा पार्टीले तानेको उनी बताउँछन् ।


राजनीति नै किन आवश्यक ?

उनी राजनीतिमा आउनु भनेको आफ्नै चिन्ताले आएको बताए । आफू जन्मेको देश अबको पचास वर्ष पछि के हुने हो कता पुग्ने हो भन्न प्रश्नले उनलाई चिन्तित बनाइरहन्छ । समाजमा परिवर्तन ल्याउने सबैभन्दा शक्तिशाली माध्यम अफूले राजनीति नै देखेको उनले प्रष्ट पारे । उनी युवाहरुको ठूलो संजाल रहेको युथ इनिसियटिभका निर्वाचित सभापति थिए । त्यहाँँबाट उनले साझा पार्टीम आउनकै लागि राजीनामा दिए । ‘विभिन्न संघ संस्थामा आबद्ध भएर जति नै काम गरेपनि राजनीतिजस्तो शक्तिशाली केही रहेनछ ।’ उनले स्पष्ट पारे ।


कुर्सी हैन विचार र योजनासँग प्रतिस्पर्धा

वर्षौदेखि राजनीतिमा खारिएर बसेका धेरै मानिसहरु छन् । प्रतिस्पर्धा धेरै हुने भयो भन्ने भन्ने प्रश्नमा उनको जवाफ गम्भीर थियो । उनले भने, ‘हामीले कस्तो कुरामा प्रतिस्पर्धा गर्ने हो यो पहिला सोच्नुपर्छ । पद र कुर्सी भन्दा पनि कसले राम्रो विचार राख्ने, कसले नयाँ याोजना ल्याउने । यस्ता कुरामा प्रतिस्पर्धा गर्दा सायद हामी आफैँलाई पनि र राष्ट्रलाई पनि फाइदा हुन्छ । जसले राम्रो विचार र योजना ल्याउँछ राजनीति उसैले गर्छ । बाँकी कुरा जो जति समयअघि आए पनि फरक पर्दैन ।’

उनले पूर्वाञ्चल विश्वविद्यालयबाट पब्लिक हेल्थको अध्ययन गर्नुकाे साथै अमेरिकाको दक्षिण इलिनियोज विश्वविद्यालयबाट सार्वजनिक निती र सरकारी नेतृत्व विषयमा दुर्इ महिना लामाे अध्ययन गरेका छन् । उनी उद्यमी पनि हुन् । उनी एक सफ्ट्वेर कम्पनीमा संलग्न रहँदै आएका छन् । त्यसबाट उनी नेपालमा कसरी डिजिटिल क्रान्ति ल्याउन सकिन्छ भनेर लागि परिरहेका छन् ।


राजनीति र पैसा

राजनीति गर्न पैसा नै चाहिन्छ भन्ने मानसिकतालाई चिर्दै उनले भने, ‘यदि पैसले रजनीति हुन्थ्यो भने नेपालकाा सबै धनी मानिसहरु राजनीतिमा लाग्थे ।’ राजनीति गर्न पैसा चाहिन्छ भन्ने कुरा आफ्नो हकमा सहि नहुने उनले बताए ।


साझा पार्टी र इमान्दारिता

साझा पार्टीको सिद्धान्त कल्याणकारी लोकतन्त्र बनाउने भएपनि यसका अन्य थुप्रै कुराहरुमा बहस हुनुपर्ने उनले बताए । साझा पार्टीको गहिरो राजनीकि सिद्धान्त अब चाँडै नै आम जनतामाझ बाहिरिने कुरा पनि उनले जानकार गराए । इमान्दारिता नै साझा पार्टीको मूलभूत विशेषता भएको र आगामी दिनहरुमा त्यसलाई पालना गर्दै जाने उनले बताए । इमान्दारिालाई अपनाउँदा भोलिका दिनमा आफूलाई जस्ता प्रश्न उठेपनि आफू तयार हुने उनको धारणा छ ।


इच्छा गर्दैमा राजनीति हुँदैन

राजनीतिमा आउन इच्छा मात्र भएर नहुने उनी बताउँछन् । त्यसको लागि उचित सिप र बजार व्यवस्थापन पनि हुनुपर्ने उनले बताए । नेपालमा राजनीतिमा इच्छा नभएर युवाहरु नआएको होइन भन्ने मत उनको छ । राजनीतिबारे गलत धारणा भएका कारण युवाहरु पन्छिएको उनले बताए । यसको लागि जनतासँग सहि रुपमा सूचना आदान प्रदान गर्दा नै युवाहरुको राजनीतिप्रतिको धारणा परिवर्तन हुन सक्नेमा उनको जोड छ ।

धेरै विद्यार्थीलाई नेतृत्व विकास गर्न सिकाउने अब्दुस भन्छन्, ‘सफल लिडर बन्नका लागि आफ्नो इच्छामा ध्यान दिएर त्यसलाई बनाउँदै लैजानुपर्छ ।’ राजनीतिमा आफू वर्षौ लगाएर सोच विचार गरेर आएको र आगामी दिनमा इमान्दारिताका सथ अघि बढ्ने भन्दै उनले कुराककानीको बिट मारे ।

–कञ्चन न्यौपाने

विशेष