कञ्चनपुर घटनापछि सरकारले के गर्यो यो दुई दिनमा ?
फागुन २८ । सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन् ।
दुई दिनको कूटनीतिक पहलमा बिहीबार प्रधानमन्त्री प्रचण्डले अपराह्न ३ बजे काठमाडौंस्थित कार्यबाहक भारतीय राजदूत विनय कुमारलाई बोलाएर घटनाको निन्दा गरे, भारत सरकारको ध्यानाकर्षण गराए । त्यस्तै बिहीबार साँझ भारतीय दूतावासद्वारा विज्ञप्तिमार्फत एसएसबीको बचाउ गर्दै गोली प्रहार नभएको दाबी गरिएको थियो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरेर ध्यानाकर्षण गराए । शुक्रबार पनि सरकारले कूटनीतिक पहल गरेको थियो । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले टेलिफोन वार्ता गरेर घटनाप्रति दुख व्यक्त गर्दै पोस्टमार्टमका रिपोर्ट माग गरेका छन् । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको टेलिफोन कुराकानीमा दुः ख व्यक्त गर्दै ध्यानाकर्षण गरिएको थियो ।
परराष्ट्रसचिव शंकरदास बैरागीद्वारा कार्यबाहक भारतीय राजदूत विनय कुमारलाई मन्त्रालयमा बोलाएर घटनाबारे कूटनीतिक नोट हस्तान्तरण गरिएको थियो । त्यस्तै गरि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायद्वारा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने सहसचिव सुधाकर दलेलालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराइएको थियो । –नयाँ पत्रिकाबाट