राजनीति

कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता

कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता
फागुन २७ । भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज(शनिबार) बिहान फोनवार्ता गरेका छन् । मन्त्री डा महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति उनको ध्यानाकर्षण गराएका थिए । नेपाली नागरिकको ज्यान गएको यस घटनाको छानबीन गरी यसमा संलग्न दोषीमाथि कारबाहीका साथै आइन्दा यस्ता घटना हुन नदिन भारतीय पक्षबाट लिनुपर्ने सावधानीका लागि पनि विदेशमन्त्री स्वराजसँग मन्त्री डा महतले आग्रह गरेका थिए । वार्ताका क्रममा भारतीय विदेशमन्त्री स्वराजले घटनालाई भारत सरकारले पनि गम्भीर रुपमा लिएको र घटनाबारे स्थानीयस्तरमा यथार्थ बुझ्ने काम भइरहेको छ । यसैबीच नेपालस्थित भारतीय कार्यबाहक राजदूत विनयकुमारलाई आज बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर उक्त घटनाका सम्बन्धमा नेपाल सरकारका तर्फबाट भारतलाई कुटनीतिक नोट हस्तान्तरण गरिएको छ । परराष्ट्र सचिव शंकरदाश वैरागीले हस्तान्तरण गरेका सो नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । साथै सो नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ ।

kanchanpur incident

विशेष